बलिउड अभिनेता शाहरुख खानका लागि सन् २०२३ यादगार रह्यो । केही महिनाको अन्तरालमा रिलिज भएका उनका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ले व्यावसायिक सफलता प्राप्त गर्न सफल भए । ‘पठान’ र ‘जवान’ले त बक्स अफिसमा रेकर्ड नै बनाएका छन् । यी तीन फिल्मले उनको संकटग्रस्त करिअरलाई ठूलो राहत दिए । त्यसअघि उनका एकपछि अर्को फिल्म डुबिरहेका थिए ।
अब शाहरुख अर्को फिल्मको तयारीमा जुटेका छन् । त्यसको नाम ‘किङ’ तय गरिएको छ । बलिउडमा उनी ‘किङ खान’कै रुपमा चिनिन्छन् । यतिबेला स्विट्जरल्यान्डमा भइरहेको ७७औं लोकार्नो फिल्म फेस्टिभलमा पार्डो अल्ला करिअर पुरस्कार प्राप्त गरेपछि ‘लाइभ सेक्सन’मा उनले आफूले ‘किङ’मा काम गर्न लागेको पुष्टि गरे । र, यसमा पनि एक्सन गर्न लागेको उनले जानकारी गराए ।
उनले भनेका छन्, ‘मैले ‘किङ’को तयारी सुरु गरिसकेको छु । केही तौल घटाउनु छ । थोरै स्ट्रेच पनि गर्नुछ ताकि ‘स्टन्ट’ गर्दा मेरो कम्मर नदुखोस् । नत्र पीडादायक हुनेछ ।’ एक्सन गर्नु आफ्नो लागि सबैभन्दा चुनौतीपूर्ण रहने उनको अनुभव छ । तर, एक्सनलाई यथार्थ रुपमा देखाउन आफैंले फिल्ममा ८० प्रतिशत काम गर्नुपर्ने उनको बुझाई छ । नभए त्यो सही नदेखिने शाहरुख बताउँछन् ।
भारतीय मिडियाका अनुसार, ‘किङ’मा शाहरुखकी छोरी सुहाना खानको समेत मुख्य भूमिका रहनेछ । छोरीसँग उनको यो पहिलो सहकार्य हुनेछ । सुजाय घोषको निर्देशन रहने फिल्ममा अभिनेता अभिषेक बच्चन भिलेनको भूमिकामा देखिने चर्चा छ । यसलाई शाहरुखकै कम्पनी रेड चिल्लीजले निर्माण गर्नेछ । ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख एक्सन फिल्म गर्न हौसिएका छन् ।