मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’ पोस्टरमा जितु र नीति बेहुला-बेहुली, फूलपातीमा ‘छक्का पञ्जा ५’सँग भिडन्त

फिल्मीखबर, काठमाडौं, 2024/08/13

jeetu nepal and niti shah

 

यस वर्षको दशैंमा फिल्म रिलिजको ठूलै चाप देखिने भएको छ । घटस्थापना अर्थात् असोज १७ मा दुई फिल्म रिलिज हुँदैछ । अब फूलपाती (असोज २४)मा पनि दुई फिल्म भिड्ने भएका छन् । यो मितिमा आउन लागेको ‘छक्का पञ्जा ५’सँग अर्को फिल्म ‘ज्वाइँ साब’ले प्रतिस्पर्धा गर्न लागेको हो । मंगलबार सार्वजनिक फर्स्टलुक पोस्टरमार्फत् फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

रोचक कुरा के छ भने लामो समय ‘छक्का पञ्जा’ समूहमा रहेर काम गरेका अभिनेता जितु नेपाल ‘ज्वाइँ साब’मा केन्द्रीय भूमिकामा छन् । यसले गर्दा यो भिडन्तलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फूलपातीमा यी दुई फिल्म मात्र होइन, अभिनेता विराज भट्ट आफ्नो निर्देशनमा बनेको एक्सन फिल्म ‘१२ गाउँ’ पनि रिलिज गर्ने योजनामा छन् । उनले केही दिनभित्रमा प्रदर्शन मिति घोषणा गर्दैछन् ।

‘ज्वाइँ साब’को पोस्टरमा जितु र अभिनेत्री नीति शाह बेहुला-बेहुलीको पहिरनमा देखिएका छन् । एउटामा जितु चढेको डोली बुद्धि तामाङ र हिमेश पन्तले बोकेका छन् । नीति भने घुम्टो समातेर मुस्कुराएको भावमा प्रस्तुत छिन् । उनी भने डोलीमा चढेकी छैनन् । पोस्टर हेर्दा जितु र नीतिको विवाहको कथामा फिल्म केन्द्रित रहेको बुझिन्छ । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।  

राजकुमार पण्डितको प्रस्तुति रहेको यस फिल्ममा शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले लगायतको पनि अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको निर्मातामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ छन् ।