आगामी भदौ २१ गते (तीजको दिन)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतले त्रेता युगका रावण पात्रको बखान गरेको छ । यसमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् । र, दुवैमा उनको गेटअप फरक छ । अभिनेत्री पूजा शर्मा पनि गीतमा प्रस्तुत छिन् । गीतको अन्तिममा निर्देशक सुदर्शन थापाको प्रवेशले ‘सरप्राइज’ दिन्छ ।
साउथ फिल्म ‘पुष्पा २’को गीत ‘पुष्पा पुष्पा’का गायक नाकाश अजिजको स्वर रहेको गीतमा कृष्णहरी बरालको शब्द रचना र रेवन आरती सिंहको संगीत छ । गीतको अडियो पक्ष बुलन्द छ । र, विक्रम स्वारको नृत्य निर्देशन सशक्त देखिन्छ । सेट डिजाइन तथा प्रप्समा ठूलो खर्च गरिएको छ । गीतले साउथ शैलीको झल्को दिन्छ । यो गीतले फिल्मप्रति दर्शकको कौतुहलता बढाउन सक्नेछ ।
गीतमा सुदर्शन पनि देखिएकाले फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको बुझ्न सकिन्छ । प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल आदिको पनि अभिनय रहेको ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत एवं श्री श्रेष्ठको द्वन्द्व छ ।
फिल्मको केही दिनअघि ‘एक्सन प्रधान’ टिजर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले मन पराएका छन् । युट्युबमा मात्र १० लाख बढी भ्यूज मिलिसकेको छ । तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरले संकेत गर्छ । पहिला अभिनेता अनमोल केसीलाई लिएर ‘रावायण’ बनाउन लागिएको थियो । तर, पछि उनी बाहिरिएपछि पल भित्रिएका हुन् ।