छायांकनरत फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार निर्माताले आगामी माघ ११ गतेबाट फिल्मलाई रिलिन गरिने जानकारी गराए । फिल्मलाई यो मितिमा रिलिज गर्न लाग्नुको पछाडि माघ १६ गते सहिद दिवस र १७ गते सोनाम ल्होछारको विदा प्रमुख कारण हो । पहिला माघ ११ मा ‘अञ्जिला’ आउन लागेको थियो । तर, यो फिल्म पछाडि सरेको छ ।
नाग पञ्चमीदेखि छायांकन सुरु भएको ‘घर नम्बर २’मा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे आदिको अभिनय छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनिरहेको फिल्मले घरबेटी र डेरावालको कथालाई उठाएको जनाइएको छ । घरबेटीको भूमिकामा आर्यन देखिने स्रोत बताउँछ ।
‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरले यो फिल्म लेखेका हुन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्मातामा छन् । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को दोस्रो श्रृंखला हो । तर, पहिलो श्रृंखलाका कुनै पनि कलाकार यसमा दोहोरिएका छैनन् ।