अहिलेको समयका दुई सफल अभिनेता सौगात मल्ल र प्रदीप खड्का पहिलो पटक फिल्म ‘पिताम्बर’मा एकसाथ देखिँदैछन् । यी दुईको सहकार्यका कारण फिल्मप्रति दर्शकमा चासो बढेको छ । भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकन गर्न लागिएको फिल्मका लागि यतिबेला दुवै ‘स्टार’ वर्कसपमा व्यस्त छन् । स्रोतका अनुसार, फिल्ममा उनीहरु एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् ।
तर, शीर्ष भूमिका अर्थात् पिताम्बर को बन्छ भन्ने बारेमा निर्माण टिमले जानकारी गराएको छैन । बुधबार निर्देशक कृषा चौलागाइँले सौगात र प्रदीपसँगको एक तस्वीर सेअर गर्दै ‘पिताम्बर को हो ?’ भनेर प्रश्न गरेकी छन् । यसलाई रिलिजसम्म कौहुलताको विषय बनाउने उनको योजना देखिन्छ । सौगात र प्रदीप दुवैको राम्रो स्टारडम भएकाले ‘पिताम्बर’ सफल हुनसक्ने प्रक्षेपण गरिएको छ ।
यसमा आँचल शर्मा, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी आदिको पनि अभिनय रहनेछ । कलाकारहरुको यो रोचक ‘लाइनअप’ले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न सक्नेछ । गत वर्ष पहिलो चरणको छायांकन नवलपरासीमा भएको थियो । जसमा सुरक्षासहितका कलाकारहरुको केही दृश्य खिचिएको थियो ।
केपी फिल्मस तथा पुरुषोत्तम प्रधान फिल्मसको संयुक्त सहकार्यमा निर्माण हुन लागेको ‘पिताम्बर’मा पुरुषोत्तम प्रधान छायाँकारमा छन् । विशाल चौलागाईं निर्मातामा छन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि कृषाले गत वर्ष आएको ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी थिइन् ।