अभिनेता राजेश हमालले ८ वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’मा दुईजना अभिनेत्री शीर्ष भूमिकामा रहनेछन् । त्यसमध्ये एउटामा नीति शाह अनुबन्ध भइसकेकी छन् । अब अर्को अभिनेत्रीमा मोडल सनिशा भट्टराई भित्रिएकी छन् । उनीसँग यसै साता निर्माताले कागजी सम्झौता गरेका हुन् । फिल्ममा नीति र सनिशा दुवै राजेश हमालको अपोजिटमा रहने जनाइएको छ ।
सनिशाको यो दोस्रो फिल्म हुनेछ । उनले विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन्, जुन दशैंको फूलपातीमा रिलिज हुँदैछ । छोटो समयमै म्यूजिक भिडियोमा आफूलाई स्थापित गरेकी उनको फिल्ममा पनि राम्रो माग देखिन्छ । अब उनको काम कस्तो रहन्छ, त्यसले भविष्यको रेखा कोर्नेछ । तर, सुरुवाती दुई फिल्ममै सनिशाले ठूला स्टारसँग सहकार्य गर्न पाएकी छन् ।
‘नरसिंहा अवतार’को निर्देशन दीवाकर भट्टराईले गर्नेछन् । उनले यसअघि ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘मायावी’, ‘स्टुपिड मन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहने जनाइएको छ । आगामी भदौबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।