अभिनेत्री सुरक्षा पन्तले अभिनयमा आफूलाई पटकपटक प्रमाणित गरिसकेकी छन् । शहरी होस् वा ग्रामीण, जुनसुकै चरित्रमा पनि जीवन्त बाँच्न सक्ने खुबी भएकी उनलाई फिल्म क्षेत्रको एउटा कुराले भने अक्सर विझाउँछ । भेट्दा प्रायःले प्रशंसा गर्छन् । तर, अरु बेला सपोर्ट नमिलेको महसुस उनलाई हुने गर्छ । यसैले फिल्म क्षेत्रमा देखावटी माया मात्र हुन्छ कि भन्ने उनलाई लाग्न थालेको छ ।
बुधबार एक कार्यक्रममा पत्रकारको प्रश्नमा उनले भनिन्, ‘फिल्म क्षेत्रमा सपोर्ट नै छैन भनेर चाहिँ भन्दिनँ । पर्सनली माया गर्नुहुन्छ । भेट्दा राम्रो गर्नुभएको छ भन्नुहुन्छ । कहिले काहीँ त्यो देखावटी माया जस्तो पनि लाग्छ । किनकि, चाहिने बेला सपोर्ट गर्नु पो माया हो ।’ यही शुक्रबार पुनः प्रदर्शन हुन लागेको आफ्नो फिल्म ‘बुलाकी’लाई फिल्म क्षेत्रले सपोर्ट नगरेको हो कि भन्ने उनलाई लाग्छ ।
‘निर्माताले ‘बुलाकी’लाई आँट गरेर फेरि प्रदर्शन गर्दैछन्, दुःखै होनि भन्ने हिसाबले माया गर्दिनुभएको भए हुन्थ्यो भन्ने लाग्छ । भेट्दा भने सबैले राम्रो गर्नुभएको छ भन्नुहुन्छ । सायद यस्तै होला फिल्म क्षेत्र । तर, म फेरि सबैलाई माया गर्छु’, उनी सुनिइन् । सुरक्षालाई आफ्नो फिल्मी करिअर एक दशकको भइसके पनि कहीँ न कहीँ सोचेजस्तो ‘एक्सपोजर’ नपाएको हो कि भन्ने पनि खड्किने गर्छ ।
फिल्म क्षेत्रमा ग्रुपिज्म हुनुहुँदैन भन्ने पक्षमा रहेकी उनी सबै टिममा काम गर्न चाहन्छिन् । कुनै निर्देशकको फिल्म मनपर्यो भने उनी तुरुन्तै म्यासेज गरेर काम गर्ने इच्छा सुनाउन हिचकिचाउँदिनन् । उनी भन्छिन्, ‘मलाई सबै टिममा काम गर्न मन छ । मैले त राम्रो लागेको निर्देशकलाई म्यासेज गरेर तपाईंसँग काम गर्न इच्छा छ भन्ने गरेको छु । काम गर्न जुर्ला या नजुर्ला तर म्यासेज चाहिँ गर्छु ।’
सुरक्षालाई फिल्ममा एकदमै काम गर्ने इच्छा सौगात मल्लसँग छ । चाँडै सौगातसँग उनी फिल्म ‘पिताम्बर’मा एकसाथ देखिँदैछिन् । ‘बुलाकी’का अभिनेता नरेन खड्कासँग पनि उनलाई फेरि दोहोर्याएर काम गर्न मन रहेछ । प्रदीप खड्कासँग पनि उनी काम गर्न चाहन्छिन् । उनी प्रदीपको करिअरको ग्राफको ठूलो फ्यान नै भएकी छन् । राजेश हमालसँग पनि सुरक्षालाई काम गर्ने इच्छा छ ।