मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको अध्यक्षका लागि ६ जनाले दिए आवेदन, सम्भावना कसको ?

फिल्मीखबर, काठमाडौं, 2024/08/15

 

अभिनेता भुवन केसीको गत साउन ९ गते दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले आवेदन मागेको थियो । बुधबार सकिएको समयसीमाभित्र ६ जनाले आवेदन दिएका छन् । करिश्मा मानन्धर, दिनेश डिसी, राजेश थापा, दीपा बस्नेत, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले अध्यक्षमा आवेदन दिएका हुन् ।

अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेर नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

तर, बोर्ड अध्यक्ष पदका लागि आवेदन दिनुपर्ने एउटा प्रक्रिया मात्र हो । अझ भनौं देखाउने दाँत हो । अन्तिममा सरकारमा रहेको पार्टीसँग सम्बन्धित फिल्मकर्मीले नै नियुक्ति पाउने हुन् । अहिले सरकारमा एमाले छ र बोर्डको तालुकवाला निकाय पनि एमालेसँग छ । यसैले यसपटक आवेदन दिएकामध्ये एमाले निकट एकजना बोर्डको अध्यक्ष बन्नेछन् । र, आवेदन दिनेहरू प्रायः एमाले हुन् ।

सबैभन्दा पहिला दिनेश डिसीले आवेदन दिएका थिए । र, अध्यक्षमा प्रवल सम्भावना उनकै देखिन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित एमालेका केही शीर्ष नेतासँग पटकपटक भेट गरिसकेका छन् । उनलाई प्रधानमन्त्री ओलीले अध्यक्ष बनाउने आश्वासन दिइसकेको बताइन्छ । तर, बोर्ड अध्यक्षका लागि एमाले नेतृ करिश्मा पनि बलियो दावेदार हुन् ।