तीजको विदा पारेर आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को टिजर र शीर्ष गीत सार्वजनिक भएपछि चर्चा चुलिएको छ । विदेशमा समेत फिल्मको माग बढेको छ । यसैबीच, मध्यपूर्व र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ । साथीभाई इन्टरटेनमेन्टले मध्यपूर्वी र मलेसियाको अधिकार खरिद गरेको निर्देशक सुदर्शन थापाले जानकारी गराए ।
फिल्मलाई नेपालकै मितिमा मध्यपूर्व र मलेसियासहित अन्य देशमा एकसाथ प्रदर्शन गरिने जनाइएको छ । अन्य केही देशबाट पनि प्रदर्शन अधिकार खरिदको प्रस्ताव आइरहेको र चाँडै त्यसको टुंगो लगाइने निर्देशक थापाले बताए । पछिल्लो समय विदेश प्रदर्शन अधिकारबाट निर्माताले राम्रो रकम पाइरहेका छन् । सिक्वेल तथा सिरिज फिल्मको त विदेश राइट्सबाटै लगानी उठ्ने गरेको छ ।
सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, कैलाश रावल, निकिता चण्डक, शर्मिला मल्ल, प्रदिप ढकाल आदिको अभिनय छ भने सौरभ लामाको छायांकन छ । टिजर र गीतले चुल्याएको चर्चा र बलियो ‘स्टारकास्ट’का कारण ‘रावायण’ले बक्स अफिसमा राम्रो व्यापार गर्नसक्ने प्रक्षेपण गरिएको छ ।