जौन योञ्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’ दशैं छेको पारेर आगामी असोज ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यसअघि असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भए पनि पछि स्थगित भएको थियो । नयाँ प्रदर्शन मिति घोषणासँगै फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा मुख्य अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता प्रस्तुत छन् ।
पोस्टरको पृष्ठभूमिमा टिनले छाएको सुकुम्बासी बस्ती देख्न सकिन्छ भने सूर्यमखी फूलहरुको बीचमा स्मिता र आरके गम्भीर भावमा देखिएका छन् । सर-समानसहितका झोला लिएर उनीहरुले सुकुम्बासी बस्ती छाडेको संकेत पोस्टरले गराउँछ । निर्देशक योन्जनले पोस्टरमार्फत फिल्मको कथावस्तु खुलाउन खोजिएको जानकारी दिए । उनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए ।
फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, प्रविण खतिवडा, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनयमा छन् । बाल कलाकारमा प्रसन राई छन् । निर्देशक योन्जनकै कथा र पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्मातामा छन् ।
राम बस्नेत लाइन प्रोड्यूसर र रेनुका कार्की ढोली सह-निर्माता रहेको ‘आँखा’मा कृष्ण भण्डारी र जौन योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । निर्देशक योन्जनले आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरु समयको कति लामो गहिराईसम्म जान सक्छन् भन्ने दृष्टिकोणको कथामा फिल्म बनेको बताएका छन् ।