नेपालको ‘नम्बर वान’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा गत वर्षको सफल फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ रिलिज भएको छ । फिल्मको पुनः सम्पादित संस्करण एपमा रिलिज गरिएको हो । नयाँ सम्पादनमार्फत फिल्मको कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएकाले हल रिलिजमा हेरिसकेका दर्शकहरूलाई पनि फरक अनुभव हुने निर्देशक तथा लेखक रामबाबु गुरुङले बताए ।
हल रिलिजको बेला दर्शकहरूले फिल्म केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानेर पुनः सम्पादन गरिएको निर्देशक गुरुङको भनाई छ । उनले भने, ‘हामीले गल्तीलाई सुधार गर्नको लागि पुनः सम्पादन गरेका होइनौँ । केही दर्शकहरूले गति केही सुस्त भएको प्रतिक्रिया दिएका थिए । त्यस प्रतिक्रियालाई ध्यानमा राख्दै हामीले प्राविधिक सुधारको उपायहरू मात्र खोजेका छौँ ।’
सिनेमाघर एपलाई एन्ड्रोइड तथा आइओएस मोबाइलहरूमा मात्र नभइ स्मार्ट टीभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ । अब दर्शकहरूले ‘डिग्री माइला’सहितका फिल्म एन्ड्रोइड टीभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टीभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन् । एपमा फिल्मको शुल्क २ सय रुपैयाँ तोकिएको छ । यो मूल्य हलभन्दा लगभग आधाले कम हो ।
सिनेमाघरका सिईओ सागर खरेलले एपको प्रयोग विश्वभरबाट सजिलै सम्भव रहेको र अब वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको बताए । यो सुविधाले डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने अनुभवलाई अझै सहज र रमाइलो बनाउने उनको दाबी छ । सिनेमाघर एपमा यसअघि ‘कबड्डी ४’, ‘महापुरुष’, ‘भष्मे डन’, ‘जारी’ जस्ता सफल पनि रिलिज भइसकेका छन् ।