अभिनेता नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । असोज ३ गतेबाट ‘पोस्टपोन्ड’ भएको यो फिल्मलाई अब आगामी कात्तिक ३० गतेदेखि प्रदर्शन गरिने भएको छ । अर्थात् तिहार र छठपछि फिल्म प्रदर्शनमा आउनेछ । कात्तिक ३० मा अहिलेसम्मलाई अरु कुनै फिल्म छैनन् ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा नेपाली र भारतीय कलाकारहरुको ‘पल्टन’ नै छ । नेपालबाट नीता र हरिहरसहित सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ, आदर्श मिश्र आदिको अभिनय रहेको छ भने भारतबाट ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र कबीर दुहन सिंहको विशेष भूमिका छ ।
नीता फिल्मस्को प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा धनन्जय गलानी छन् । हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई बलिउडका नामी छायाँकार कवीरलालले छायांकन गरेका हुन् । नेपाली, तेलुगु र हिन्दी गरी तीनवटा भाषामा रिलिजको तयारी गरिएको फिल्मको बजेट ६ करोडमाथि रहेको जनाइएको छ ।