५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका थिए ।
हमाल र खनालले पछिल्लोपटक सहकार्य गरेको फिल्म ‘चाहना’ (२०५१) थियो । यसपछि उनीहरुको सहकार्य नै जुर्न सकेन । अब ३० वर्षपछि फिल्म ‘नरसिंहा अवतार’मा उनीहरुले एकसाथ काम गर्ने भएका छन् । उनीहरु दुवै फिल्ममा अनुबन्ध भइसकेका छन् । दुवैको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । उनीहरुको वर्षौंपछिको सहकार्यले दर्शकमा पनि उत्साह बढाएको छ ।
यो फिल्मबाट हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका उनले यसपछि दुईटा फिल्म सम्झौता गरेको भए पनि पछि निर्माण भएनन् । ‘नरसिंहा अवतार’मा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । दुई चरणमा छायांकन हुन लागेको फिल्ममा हमाल फरक-फरक लुक्समा देखिनेछन् । यसलाई उनको करिअरको दोस्रो इनिङ्सको रुपमा हेरिएको छ ।
दीवाकर भट्टराईको निर्देशन रहने फिल्ममा नीति शाह र सनिशा भट्टराई पनि शीर्ष भूमिकामा रहनेछन् । र, यही फिल्मबाट मोडल दीपा शाहीले डेब्यु गर्ने निश्चित भएको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको पहिलो चरण अन्तर्गत २५ दिनको सेड्युलमा छायांकन गरिने तयारी छ ।