अभिनेत्री स्वस्तिमा खड्कालाई यस वर्ष चर्को दौडधुप हुने देखिन्छ । दशैंको घटस्थापना (असोज १७ गते)बाट आउन लागेको होम प्रोडक्सनको फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रचार सुरु गरिसकेकी उनले सम्भवतः दशैं लगत्तै फिल्म ‘वसन्त’को छायांकन गर्नेछिन् । अब उनले काम गर्ने अर्को फिल्मको पनि टुंगो लागेको छ । त्यो फिल्म हो, ‘कङ्गारु’ । उनी सोमबार यो फिल्ममा भित्रिएकी हुन् ।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्ध भइसकेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्न लागेको फिल्ममा स्वस्तिमाको प्रवेश भएसँगै कलाकारको ‘लाइनअप’ रोचक बनेको छ । फिल्मको मुख्य भूमिकामा अझै केही कलाकारलाई अनुबन्ध गर्न बाँकी नै छ ।
सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने निर्देशक बस्नेतले बताए । यसमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी निर्माताहरूमा छन् भने सह-निर्माताहरूमा अन्जन दुरा र लक्ष्मी राई छन् । सीमा गुरुङको कथा लेखन रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्नेछन् ।