अभिनेत्री मलिका महतलाई जुत्ताको माला र कालोमोलो दलेको अवस्थामा प्रस्तुत गर्दै पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ कृष्ण जन्माष्टमीको अवसर पारेर यही शुक्रबार अर्थात् भदौको ७ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनपूर्व नै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको फिल्मले ट्रेलरबाट सशक्त दृश्यभाषाको संकेत गरिसकेको छ ।
यसैबीच, प्रदर्शनको तीन दिनअघि मंगलबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर गरियो । जहाँ फिल्मको कथावस्तु र कलाकारको अभिनयको फिल्मकर्मीहरुले खुलेरै प्रशंसा गरे । अभिनेत्री गौरी मल्लले हरेक कलाकारहरुको अभिनय राम्रो रहेको बताउँदै उठाउन आवश्यक विषयमा फिल्म बनाएकोमा निर्देशक (लक्ष्मण सुवेदी)लाई धन्यवाद व्यक्त गरिन् ।
अभिनेत्री पूजा शर्मालाई भने ‘सतीदेवी’ले आफ्नै कथा उठाएको महसुस भएको रहेछ । उनले भनिन्, ‘मेरो कथा नै फिल्मले बोलेको छ । म पनि सतीदेवी हो । यो मेरै कथामा बनेको फिल्म जस्तो लागिरहेको छ ।’ यस्तो विषयमा फिल्म बनाउनु नै ठूलो आँट रहेको बताउँदै उनले अभिनेत्री मलिका महतको अभिनयको पनि तारिफ गरिन् । उनलाई यो फिल्म हरेक छोरीहरुले हेर्नुपर्छ भन्ने लाग्छ ।
अर्की अभिनेत्री मिरुना मगरले पनि मलिकाको प्रशंसा गरिन् । ‘मलाई पनि मलिकाको काम एकदमै मनपर्यो । उसले फिल्मलाई नै सशक्त रुपमा अगाडि बढाएको छ । फिल्मले हामी महिलालाई त छुन्छ नै छुन्छ, अझ पुरुषहरुले हेर्नुपर्छ जस्तो लाग्छ । फिल्ममा गहिरो सन्देश छ,’ उनले भनिन् । ‘सतीदेवी’ले उठाएको कथा आफूले कहिल्यै नभोगेको भएपनि धेरै सुनेको मिरुनाको अनुभव छ ।
अभिनेता सलोन बस्नेतले पनि ‘सतीदेवी’को कथावस्तु र मलिकाको कामको प्रशंसा गरे । मलिकासँग फिल्म ‘यात्रा’मा एकसाथ काम गरेका उनले भने, ‘मलिकासँग हामीले ‘यात्रा’मा एकसाथ काम गरेका थियौं । त्योबेला नै ऊ आफ्नो काममा एकदमै गम्भीर थियो । ‘यात्रा’देखि ‘सतीदेवी’सम्म आइपुग्दा उसले गजब काम गरिरहेको छ । ‘सतीदेवी’ मलिकाको लागि भएपनि हेरिदिन आग्रह गर्दछु ।’
‘यात्रा’मा मलिकाको जोडी भएर काम गरेका अभिनेता सलिनमान बनियाँ पनि प्रिमियरमा पुगेका थिए । उनले पनि मलिकाकै बढी प्रशंसा गरे । ‘मलिकाले सतीदेवीको रोलमा गरेको काम पनि राम्रो लाग्यो । ‘यात्रा’ उहाँको पहिलो फिल्म थियो । त्यहाँबाट यहाँसम्म आइपुग्दा उहाँको काममा एकदमै निखारता देखिएको छ । फिल्म हेर्दा मलाई मलिका ‘सतीदेवी’ नै महसुस भइरह्यो,’ उनले भने ।
प्रिमियरमा उपस्थित अधिकांश फिल्मकर्मीहरुले कामको प्रशंसा गर्दा मलिका हर्षित भावमा देखिएकी थिइन् । ‘फिल्म हेरिसकेपछि धेरैले अंगालो मार्नुभयो । त्यो कुराले ‘इमोसनल’ पनि भएँ । र, धेरै खुसी पनि लागेको छ,’ उनी सुनिइन् । प्रिमियरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशकहरू नवल नेपाल, ज्ञानेन्द्र देउजासहित उल्लेख्य रुपमा सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो ।