२०७४ सालमा प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ले निर्देशनमा दीवाकर भट्टराई र खलपात्र (भिलेन)मा प्रशान्त ताम्राकारलाई स्थापित गरेको थियो । यसपछि उनीहरुबीच सहकार्य टुटेको छैन । ‘ऐश्वर्य’पछि दीवाकरले ‘क्याप्टेन’ र ‘मायावी’मा पनि प्रशान्तलाई खेलाए । अब चौंथोपटक उनीहरुको टिमअप भएको छ । दीवाकरको आगामी फिल्म ‘नरसिंहा अवतार’मा प्रशान्तले काम गर्न लागेका हुन् ।
फिल्ममा प्रशान्तको भूमिकाको बारेमा जानकारी गराइएको छैन । यद्यपि, उनी भिलेनकै भूमिकामा देखिन सक्ने आँकलन गरिएको छ । ‘नरसिंहा अवतार’मा अभिनेता राजेश हमाल पनि छन् । हमालसँग प्रशान्तले १० वर्ष अगाडि फिल्म ‘मुखौटा’मा सहकार्य गरेका थिए । अब दोस्रोपटक उनीहरू एकसाथ पर्दामा देखिँदैछन् । फिल्ममा उनीहरू आमने-सामने हुँदा दर्शकलाई पनि रोचक हुनेछ ।
यसमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र दीपा शाहीको पनि अभिनय रहनेछ । यही भदौ अन्तिमबाट २५ दिनको सेड्युलमा पहिलो चरणको छायांकन गर्ने तयारीमा निर्देशक भट्टराई छन् । यसमा हमाल एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । उनी दुई फरक लुक्समा देखिनेछन् । उनको ८ वर्षपछिको ‘कमब्याक’ फिल्म भएकाले दर्शकहरूमा पनि उत्साह देखिएको छ ।