फिल्म निर्माणको १५ वर्ष लामो अनुभवलाई सर्टिफिकेट मानेर ‘ऐंचो पैंचो’बाट कृषा चौलागाईंले निर्देशनमा फड्को मारेकी थिइन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । न फिल्म चल्यो न निर्देशनमा उनले कुनै प्रभाव छाड्न सकिन् । अब यसको घाटा आफ्नो अर्को फिल्म ‘पिताम्बर’बाट असुल्ने तयारीमा छिन् उनी । यसमा कलाकारको ‘लाइनअप’ हेर्दा फिल्मको सफलता निश्चित देखिन्छ ।
फिल्ममा कृषाले नाम कहलिएका कलाकारहरूको पल्टन नै खडा गरेकी छन् । सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेको फिल्ममा अब दयाहाङ राईको पनि प्रवेश भएको छ । दुई दिनअघि ‘कार्साङ’को छायांकन भ्याएका उनले काठमाडौं आए लगत्तै ‘पिताम्बर’ सम्झौता गरेका हुन् ।
अब पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । यी तीन ‘स्टार’को सहकार्यले दर्शकमा समेत उत्साह थपिएको छ । यतिबेला फिल्मको वर्कसप चलिरहेको छ । आगामी साताबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु गरिँदैछ । पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । ‘लार्ज स्केल’मा निर्माण हुन लागेको फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।
फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्म ५ करोडमा बन्नेछ । कृषाले ‘पिताम्बर’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मानेकी छन् । यसैले उनी फिल्मलाई बलियो बनाउन दत्तचित्त भएर लागिपरेकी छन् ।