यही भदौ १४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सिरी सिरी’ बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत छ । यो गीत रोमानियामा खिचिएको हो ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । एक साताअघि सार्वजनिक फिल्मको ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रियासहित १० लाख भ्यूज कटाइसकेको छ ।
फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । फिल्मले सामाजिक विषयवस्तुलाई रमाइलो शैलीमा भनेको निर्देशक चाम्सले बताएका छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बिहीबारबाट मोफसल केन्द्रित प्रचार सुरु गरेको छ ।