गत हप्ता प्रदर्शनमा आएको बलिउड फिल्म ‘स्त्री २’ले भारतमा त आक्रामक व्यापार गरेको छ नै, नेपालमा पनि कमजोर देखिएको छैन । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले एक हप्ता पनि नवित्दै फिल्मलाई ‘सुपरहिट’ घोषणा गरिसकेको थियो । यसले पनि नेपालमा फिल्मको व्यापार कस्तो छ भन्ने देखाउँछ । फिल्मले नेपालका हलमा अझै केही दिन पकड कायम राख्ने निश्चित छ ।
हलमा ‘स्त्री २’को वर्चश्व देखिरहँदा शुक्रबारबाट दुईवटा नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा उत्रिएका छन् । यी दुई फिल्मलाई ‘स्त्री २’ नै ठूलो चुनौती हो । यो अवस्थामा दुवै फिल्मलाई बलियो ‘माउथ पब्लिसिटी’को आवश्यकता पर्नेछ । एड्भान्स बुकिङ दुवैको कमजोर देखिएको थियो । बिहानी शो पनि अपेक्षाकृत भएन । अब दिउँसोबाट गति लिन सक्ने अपेक्षा गरिएको छ ।
‘सतीदेवी’का निर्देशक लक्ष्मण सुवेदी हुन् । रंग पत्रकारिता हुँदै निर्देशनमा होमिएका उनले फिल्ममा छोरीप्रति गरिने विभेदको कथा उठाएका छन् । यो विषयले विशेषगरी महिलाहरुलाई आकर्षित गर्न सक्ने देखिन्छ । निर्देशक सुवेदीको अपेक्षा यही हो । फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मलिका महत छिन् । मंगलबार गरिएको प्रिमियरमा उनको अभिनय क्षमताको वाहवाही भएको थियो ।
‘नमेटिने घाउ’लाई भने अभिनेता रमित ढुंगानाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । एसिड पीडितहरुको कथामा बनेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेताहरुको पनि अभिनय छ । मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी लगायतको शीर्ष भूमिका रहेको फिल्ममा शिवम् अधिकारीको लेखन छ ।