मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलको नक्कली दाह्रीलाई लिएर उठेको प्रश्नमा के भन्छन् सुदर्शन ?

फिल्मीखबर, काठमाडौं, 2024/08/23

फिल्ममा कलाकारको लुक्स महत्त्वपूर्ण मानिन्छ । किनकि, लुक्सले पात्रको चरित्रलाई दर्शाउने काम गर्छ । यसैले कतिपय फिल्ममा कलाकारहरूलाई फरक चरित्रमा ढाल्न नक्कली दाह्री, जुँगा र कपालको प्रयोग गरिन्छ । यो विश्वमै हुन्छ । तर, यसको प्रयोग गर्दा नक्कली देखियो वा देखिएन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण रहन्छ । अनुहारमा टाँसेको जस्तै देखियो भने त्यसको औचित्य रहँदैन ।

यतिबेला अभिनेता पल शाहले फिल्म ‘रावायण’मा लगाएको दाह्री, जुँगा र कपालको गेटअपलाई लिएर टिका-टिप्पणी भैरहेको छ । फिल्मको टिजर र गीतको कमेन्ट हेर्ने हो भने धेरैले पलको दाह्री रत्नपार्कबाट ल्याएको भन्दै खिसिटिउरी गरेका छन् । अर्थात् दाह्री-जुँगाको गुणस्तरमाथि प्रश्न उठेको छ । बिहीबार ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले यस विषयमा प्रतिवाद गरे ।

 

Paul Shah and sudarshan thapa


‘हामीले पललाई त्यसरी दाह्री-जुँगामा कहिल्यै देखेका छैनौं । उसको त्यसरी दाह्री पनि आउँदैछ । त्यसैले मानिसमा उसले नक्कली दाह्री नै हालेको हो भन्ने परेको छ । तर, मलाई चाहिँ पलको दाह्री नभएको भन्दा भएको लुक्स नै एकदम मनपर्छ । दाह्रीको लुक्स बनाउनका लागि धेरै मिहिनेत छ,’ उनले भने । सुदर्शनले पलले लगाएको दाह्री र कपाल भारतमा तयार पारिएको जानकारी दिए ।

‘हामीले दाह्री-कपाल जस्तो पायो त्यस्तो हालेकै होइन । युट्युबको कमेन्टमा धेरैले रत्नपार्कबाट ल्याएको दाह्री हालेको भनेर लेखेको पनि देखेको छु,’ सुदर्शनले दर्शकको प्रतिक्रियालाई काउन्टर दिँदै भने, ‘यदि ‘भोला’ (२०२३ मा आएको बलिउड फिल्म)मा अजय देवगनले रत्नपार्कको दाह्री हालेको हो भने पलले पनि त्यहीँको दाह्री हालेको हो । किनभने हामीले त्यहीँबाट दाह्रीहरु ल्याएका हौं ।’

फिल्मका अर्का कलाकार प्रमोद अग्रहरीलाई पनि केही सिनमा नक्कली दाह्री लगाएको तर कसैले प्रश्न नउठाएको उनको भनाई छ । ‘पाँचवटा जति सिनमा हामीले प्रमोद अग्रहरीलाई पनि नक्कली दाह्री लगाएका छौं । तर, उहाँलाई नक्कली दाह्री लगाएको भनेर भनिएन । किनकि, धेरैलाई थाहा छ कि प्रमोदको दाह्री छ । पलको त्यसरी दाह्री नआउने भएकाले त्यस्तो लागेको हो,’ उनले भने ।

पलले भने नक्कली दाह्री-जुँगाको विषयलाई सकारात्मक रुपमा लिन आग्रह गरे । उनी भन्छन्, ‘यसमा दोहोरो चरित्र भएकाले दाह्री भएको कलाकार भए पनि ‘क्लिनसेभ’ गरेरै नक्कली दाह्री हाल्नुपर्थ्यो । किनकि, एउटामा दाह्री छ र अर्कोमा दाह्री छैन । यसैले यो कुरालाई सकारात्मक रुपमा नै लियौं । त्यति नराम्रो देखिएको छ जस्तो पनि लाग्दैन ।’ फिल्ममा उनी दोहोरो चरित्रमा प्रस्तुत छन् ।