यही भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री शिल्पा मास्के नृत्य गर्दै प्रस्तुत छिन् । सुरुमा उनी शास्त्रीय नृत्य गर्दै देखिएकी छन् । यो गीतले नारीको पीडा बोलेको छ । स्वप्निल शर्माको स्वर र शब्द रचना तथा रोहित शाक्य संगीत रहेको गीतमा मिङ्मा लेप्चाको नृत्य निर्देशन र निर्देशन छ भने बशिष्ठ घिमिरेको छायांकन छ ।
क्राइम-थ्रिलर जनरामा बनेको फिल्ममा सञ्जोग राईको निर्देशन तथा लेखक छ । अजय गौतमको सहयोग लिएर उनले स्क्रिप्ट तयार पारेका हुन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा तयार भएको फिल्ममा ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सले सहकार्य गरेको छ । ‘देवी’ले बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा उठाएको छ । केही दिनअघि फिल्मको ट्रेलर रिलिज गरिएको थियो ।
यसमा शिल्पासहित गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला लगायतको पनि अभिनय छ । जोएल फ्रोमको डिओपी रहेको फिल्ममा सन्तोष दवाडी र इयान स्कट क्लेमेन्टको सम्पादन तथा सन्जेन थापाको द्वन्द्व छ । यसमा रेमन गुरुङ र सञ्जोग राई निर्माता, जावेद खान कार्यकारी निर्माता तथा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा सह-निर्मातामा छन् ।