चर्चित हास्य श्रृंखला ‘सक्किगोनि’को टिम अब फिल्म निर्माणको तयारीमा छ । ‘लाज शरणम्’ शीर्षकमा बन्न लागेको फिल्मको केही समयदेखि वर्कसप चलिरहेको छ । यही भदौ अन्तिम साताबाट छायांकन गर्न लागिएको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनाइएको छ । विशेषगरी ‘सक्किगोनि’ सिरियलबाट दर्शकलाई हँसाउँदै आएका कलाकारलाई नै केन्द्रीय भूमिकामा लिइएको छ ।
कुमार कट्टेलको निर्देशनमा तयार हुन लागेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल (खुपीका बाउ), रेनुनाथ योगी, सागर लम्साल (बले), बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी), माला लिम्बू लगायत अनुबन्ध भइसकेका छन् । अब अर्का कलाकार हरिश निरौला (कक्रोज)को पनि प्रवेश भएको छ । यो उनको डेब्यु फिल्म हुनेछ ।
निर्देशक कट्टेलकै लेखन रहेको फिल्ममा अभिनेता सिताराम कट्टेल (धुर्मुस)को पनि प्रवेश हुन लागेको चर्चा छ । कुमारले यतिबेला सितारामसँग छलफल गरिरहेका छन् । आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रीमा प्रदर्शन गर्न लागिएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह–निर्मातामा राम नरेश शाह रहेका छन् । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्ने जनाएको छ ।