यही भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एन्ड वधु’को टिम प्रचार अभियान अन्तर्गत पूर्वका विभिन्न ठाउँमा पुगेको छ । निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकारहरू किरण केसी, आँचल शर्मा र विवेक कर्माचार्य पूर्वी जिल्ला धरान, विर्तामोड, इटहरी र विराटनगर गरी चार ठूला सहरमा पुगेका थिए । त्यहाँ उनीहरूले दर्शकसँग भेट गर्दै फिल्म हेर्न निम्तो दिए ।
मोफसल टूरको क्रममा पत्रकारसँग साक्षात्कारको क्रममा निर्देशक चाम्सले ‘वर एन्ड वधु’ पूर्ण प्याकेजको फिल्म बनेको दाबी गरे । उनले भने, ‘दर्शकले उच्च क्यानभासमा उत्कृष्ट फिल्म हेर्न पाउनुहुन्छ । मैले निर्देशन गरेको लभस्टोरी फिल्म ‘लिलीबिली’पछिकै यो उत्कृष्ट फिल्म हो ।’ फिल्मको छायांकन नेपालसहित रोमानिया, फ्रान्स, स्पेन जस्ता देशहरुमा गरिएको पनि उनले जानकारी दिए ।
किरण केसी भने फिल्मलाई दर्शकले साथ दिएको अवस्थामा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गर्छन् । उनले भने, ‘मैले काम गरेका सय बढी फिल्ममध्ये यो १–२ नम्बरमा पर्छ । फिल्म हरेक कोणबाट उत्कृष्ट छ ।’ दर्शकलाई आफ्नो चरित्र रोचक लाग्ने उनी बताउँछन् । ट्रेलर हेर्दा फिल्ममा उनी ज्योतिषीको भूमिकामा रहेको बुझिन्छ । उनको चरित्र ‘सुगर ड्याडी’ जस्तो पनि लाग्छ ।
यस्तै, आँचल ‘वर एन्ड वधु’ले दर्शकको आँखा शीत्तल बनाउने दाबी गर्छिन् । यसमा प्रेम, रोमान्स, कमेडी, धोका सबै कुरा रहेकाले दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने उनले बताइन् । यही फिल्मबाट डेब्यु गरेका विवेक भने आफ्नो कामलाई दर्शकले मन पराउनेमा विश्वस्त देखिएका छन् । यसमा काम गर्दा फिल्म बनाउन सजिलो रहेनछ भन्ने पनि महसुस रहेको उनको अनुभव थियो ।
अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा विजय लामा, अंशु महर्जन, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, हिउँवाला गौतम, रविन्द्र खड्का, सृष्टि खड्का, कुसुम शर्मा, हिमेश पन्त आदिले पनि अभिनय गरेका छन् । सुदिप बरालको डीओपी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत तथा प्रदीप भारद्वाजको लेखन छ । फिल्मको ट्रेलरलाई युट्युब प्लेटफर्ममा निकै रुचाइएको छ ।