लामो समयदेखि सामाजिक कथाको बाढी देखिएको नेपाली फिल्ममा फेरि एक्सनको लहर सुरु हुन थालेको छ । यतिबेला एकपछि अर्को एक्सन फिल्म निर्माण र प्रदर्शन भइरहेका छन् । अब एक्सन कथामा अर्को फिल्म ‘हन्टर’ बन्ने भएको छ । अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर यो फिल्म बन्न लागेको हो । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो ।
जीवन सिंहले फिल्मलाई निर्देशन गर्नेछन् । यो उनको पहिलो निर्देशकीय फिल्म हुनेछ । फिल्ममा अरुणबाहेक अरु कलाकार भने निश्चित भइसकेका छन् । क्याच कुक इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मले सुदूरपश्चिमको कथा भन्ने जनाएको छ । फिल्मलाई पश्चिम नेपालमा खिचिनेछ । ‘हन्टर’को अर्थ शिकारी हुन्छ । अर्थात् फिल्मले शिकारीको कथा भन्ने शीर्षकले बुझाउँछ ।
निर्देशक सिंहले फिल्म वास्तविक पात्रबाट प्रभावित रहेको जनाएका छन् । ‘यो वास्तविक पात्रको कथाबाट प्रभावित छ । तर, हामी ‘सिनेम्याटिक लिवर्टी’ लिएर कथा भन्ने छौँ । वास्तविक पात्रको कथामा ‘फिक्सन’ मिसाइनेछ । जसले फिल्मलाई रोचक बनाउनेछ,’ उनले भने । यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टले सहकार्य गरेका छन् ।