फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट डेब्यु गर्दा अभिनेता धीरज मगरको चर्चा उत्कर्षमा थियो । लुक्सका कारण डेब्यु अगावै ‘भ्लग’बाट उनको गजब ‘फ्यान फलोइङ’ बनिसकेको थियो । पहिलो फिल्मबाट अभिनयमा पनि राम्रो सम्भावना देखाएपछि उनलाई ‘स्टार’को रुपमा हेरियो । तर, दुर्भाग्य ! यसपछि उनका फिल्मले व्यावसायिक सफलता पाउन नसक्दा करिअरको सन्तुलन नै विग्रिएको छ ।
अब उनलाई ठूलो आशा र भरोसा आगामी असोज ३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’प्रति छ । यो सफल भएको खण्डमा उनको करिअरले पुनर्जन्म पाउने धेरैको तर्क छ । के उनलाई पनि यही लागेको छ ? आइतबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नमा उनले भने- ‘मेरो लागि हरेक फिल्म फरक र नयाँ हुन्छ । हरेक प्रोजेक्टले नयाँ जन्म दिए झैँ लाग्छ ।’
‘खुस्मा’मा धीरजले द्वन्द्वकालीन समयको जीवन बाँचेका छन्, जुन उनले न भोगेका हुन् न देखेका । किनभने, उनको हुकाई, बढाई र पढाई बेलायतमा भयो । यसैले फिल्ममा काम गर्न चुनौतीपूर्ण भएको उनको अनुभव छ । ‘मैले पहिलोपटक ‘पिरियोडिक’ फिल्म गरेको हुँ । यसैले पनि धेरै चुनौती महसुस गरेँ । अरु फिल्ममा जसरी तयारी गर्थेँ, यसमा मैले धेरै इतिहास पढ्नु पर्यो,’ उनले भने ।
धीरजले द्वन्द्वकालीन समयको दुःख र संघर्ष नभोगेका भए पनि उनकी आमाले त्यो जीवन बाँचेकी थिइन् । त्यसले गर्दा उनले चरित्र निर्माणको क्रममा आमाको अनुभव सुने । साथीभाईहरुको सहयोग लिए । उनी भन्छन्, ‘त्यसबेलाको दुःख र संघर्ष सुन्दा आफैंलाई निकै गाह्रो भएको थियो । फिल्मले द्वन्द्वकालीन समयको कथा उठाएकाले आम नेपालीलाई कहीँ न कहीँ छुन्छ भन्ने मलाई लाग्छ ।’