यही भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को टिजर, गीत र ट्रेलरका कारण चर्चा चुलिएको छ । युट्युबमा यी तीनवटै ‘कन्टेन्ट’लाई दर्शकले निकै रुचाएका छन् । धेरैले यसबाट ‘एक्सन युग’को सुरुवात हुनसक्ने विश्लेषण समेत गरेका छन् । फिल्मको प्रचारात्मक सामाग्री हेर्दा यसको लक्षित वर्ग युवापुस्ता देखिन्छ । र, निर्माण टिमले प्रचार पनि त्यही रुपमा गरिरहेको छ ।
आइतबार निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा, कलाकारद्वय प्रमोद अग्रहरी र प्रकाश शाह कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित टेक्सास कलेजको एक कार्यक्रममा सहभागी भएका थिए । जहाँ उनीहरुले कलेजका सयौं युवा विद्यार्थीहरुलाई फिल्मको बारेमा जानकारी गराउँदै ट्रेलर देखाएर हुटहुटी जगाए । कार्यक्रममा पूजाको इन्ट्री हुँदा हल पूरै हुटिङ र तालीले गुञ्जयमान बन्यो ।
कार्यक्रममा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै निर्देशक थापाले फिल्मको विषयवस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । ‘रामायण’को सुरुवात रामले गरेजस्तै अब ‘रावायण’को सुरुवात रावणले गर्ने उनको भनाई थियो । पहिलाको फिल्ममा भन्दा पूजाको ‘हेभी’ क्यारेक्टर रहेको समेत सुदर्शनले दाबी गरे । पल शाहको क्यारेक्टर पनि सशक्त रहेको उनको जिकिर छ ।
प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, निकिता चाण्डक, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, निमा पाण्डे, अनिल कुर्मी, रजिता पराजुली, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ लगायतको पनि रहेको ‘रावायण’ एक्सन कथामा बनेको हो । पल दोहोरो चरित्रमा देखिएका छन् । जेल जीवनपछि उनको यो कमब्याक फिल्म भएकाले उनलाई सफलताको दबाब ठूलो छ ।