मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सतीदेवी’लाई प्रतिक्रिया राम्रो, भुवनले भने- ‘मन छुने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2024/08/27

malika mahat and bhuwan kc

 

छोरा र छोरीबीच गरिने विभेदको कथामा बनेको फिल्म ‘सतीदेवी’ले व्यापारमा सुधारको लागि संघर्ष गरिरहेको भए पनि प्रतिक्रिया राम्रो मिलेको छ । जो जतिले फिल्म हेरेका छन्, प्रशंसा नै गरेका छन् । विषयवस्तु र कलाकारको अभिनयले दर्शकलाई प्रभावित बनाएको देखिन्छ । सामाजिक सञ्जालमा फिल्मको प्रशंसा गर्दै स्टाटस लेख्नेदेखि भावुक हुँदै भिडियो बनाउने समेत देखिएका छन् ।

केही दिनअघि सुजा चोङबाङ लिम्बू नाम गरेकी एक महिला दर्शकले फिल्म हेरेपछि फेसबुकमा एक भिडियो पोस्ट गर्दै आफूलाई फिल्मको हरेक दृश्यले भावुक बनाएको प्रतिक्रिया जनाएकी छन् । उनी भन्छिन्, ‘तीन दिन भइसक्यो फिल्म हेरेको । तर, त्यसको पार्ट-पार्टले एकदमै छोइरहेको छ । म एकदमै भावुक भइरहेको छु ।’ उनले कलाकारहरुको अभिनयको पनि प्रशंसा गरेकी छन् ।

दर्शकले मात्र होइन, सेलिब्रेटीहरुले पनि ‘सतीदेवी’ रुचाएका छन् । सोमबार फिल्म हेर्न पुगेका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा अभिनेता भुवन केसीले आफू पटकपटक भावुक बनेको प्रतिक्रिया दिए । ‘सुरुदेखि अन्तिमसम्म एकदमै मन छुने छ । एकदमै ‘इमोसनल’ छ,’ उनले भने, ‘एउटा छोरीले परिवारका लागि कतिसम्म गर्न सक्छ भन्ने कुरा फिल्मले एकदमै राम्रोसँग देखाएको छ ।’

उनले अभिनेत्री मलिका महतको पनि अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । ‘मलिका राम्रो कलाकार हो भन्ने थाहा थियो तर, यसमा मैले सोचेभन्दा धेरै राम्रो काम छ । अरु कलाकारको काम पनि राम्रो छ । यो परिवारले हेर्नुपर्ने फिल्म हो भन्ने मलाई लाग्छ । यसले ठूलो सन्देश बोकेको छ । फिल्म हेर्दा कसैलाई पनि पश्चाताप हुन्न,’ भुवन भन्छन् । उनले फिल्मलाई ‘माइन्ड ब्लोइङ’को संज्ञा दिए ।

फिल्मका निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले दर्शकबाट प्रतिक्रिया राम्रो मिलेकाले व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनी भन्छन्, ‘दर्शकबाट पाएको प्रतिक्रियाले म आफैं भावुक बनेको छु । मेरो लागि यही सबैभन्दा ठूलो सफलता हो । ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले व्यापारमा बढ्छ भन्नेमा म विस्वस्त छु ।’ मलिका पनि दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित देखिएकी छन् ।