आगामी असोज ३ गते (संविधान दिवस)लाई प्रदर्शन मिति घोषणा गर्दै टिजर समेत सार्वजनिक भइसकेको फिल्म ‘आउट लः दफा २१९’ पोस्टपोन्ड भएको छ । मंगलबार निर्माण पक्षले जारी गरेको एक विज्ञप्तिमा केही प्रतिशत छायांकन र प्राविधिक काम बाँकी नै रहेकाले रिलिज स्थगन गर्नुपरेको जनाइएको छ । छायांकन सकिएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
एक महिना अगाडि सार्वजनिक गरिएको फिल्मको ‘एक्सन प्याक्ड’ टिजरले युट्युबमा राम्रो भ्यूज र प्रतिक्रिया पाएको छ । टिजरका कारण विदेशमा समेत फिल्मको माग बढेको थियो । अभिनेता सुशील श्रेष्ठले यही फिल्मबाट चार वर्षपछि पुनरागमन गरेका हुन् । उनलाई ‘आउट ल’ सफल हुनैपर्ने दबाब छ । किनभने, उनका पछिल्ला केही फिल्मले बक्स अफिसमा नराम्ररी दम तोडेका थिए ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, विशाल पहारी, हेम गुरुङ, सोनी लागुन, सुमन भण्डारी लगायतको पनि अभिनय छ । अमित अग्रहरी निर्माता र विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्मातामा छन् । यसमा नविन गुरुङको छायांकन, चुल्ठे काजीको द्वन्द्व र साहिल खानको सम्पादन रहेको छ ।