संसारका प्रतिष्ठित फेस्टिभलमा सहभागी भएको ‘हाइवे’ र ‘ह्वाइट सन’पछि दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । फिल्मले मधेशको कथा उठाएको छ । टिजरले सशक्त कथावाचनको छनक दिन्छ ।
यो फिल्ममा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाएका छन् । अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत छिन् । उनकै चरित्रमार्फत कथा भनिएको जानकारी टिजरले गराउँछ । अभिनेत्री ऋचा शर्माले मधेशी समुदायकी विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् भने अर्की अभिनेत्री निकिता चाण्डक प्रहरीको भूमिकामा टिजरमा देखिएकी छन् ।
विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको फिल्मको प्रदर्शनभन्दा अगावै चार देशका लागि राइट्स बिक्री भइसकेको छ । फ्रान्स, स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाका लागि फिल्म बिक्री भएको निर्देशक रौनियारले जानकारी दिए । यो फिल्म यही २९ अगस्टमा ‘भेनिस फेस्टिभल’मा वर्ल्ड प्रिमियर हुँदैछ ।
आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल एवं तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगन (नर्वे)ले फिल्मको निर्माणमा सहकार्य गरेका छन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको ‘पूजा, सर’को नेपाल प्रदर्शन मिति भने घोषणा भएको छैन ।