मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुकको डकुमेन्ट्रीमा आमाले रुँदै भनिन्, ‘छोराको न्याय पाइनँ’

फिल्मीखबर, काठमाडौं, 2024/08/28

अभिनेता सारुक ताम्राकारको निधनको एक वर्ष भइसकेको छ । २०८० असार २१ गते फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर फर्किएपछि उनले सोही साँझ देहत्याग गरेका थिए । करिब डेढ महिनापछि उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि उपचारको क्रममा भदौ ९ गते निधन भयो । बाबु-छोराको निधनले फिल्म क्षेत्र शोकमा डुबेको थियो । दुवै अभिनयमा उम्दा थिए ।

 

 Saruk Tamrakar


सारुकको निधनलाई लिएर त्यसबेला कयौं प्रश्न उठेको थियो । उनको मृत्यु शंकास्पद रहेको भन्दै सामाजिक सञ्जालको माध्यमबाट कलाकारहरुले सारुकको निधनबारे निष्पक्ष छानबिन गर्न माग समेत गरेका थिए । प्रहरीले अनुसन्धान पनि अगाडि बढाएको थियो । केहीसँग सोधपुछ गर्‍यो । तर, अहिलेसम्म कुनै नतिजा देखिएको छैन । सारुककी आमा भने अझै पनि न्यायको पखाईमा छिन् ।

मंगलबार युट्युबमा सार्वजनिक सारुकको ‘बायोग्राफिकल डकुमेन्ट्री’मा उनकी आमाले छोराको न्यायका लागि गुहार मागेकी छन् । उनले रुँदै भनेकी छन्, ‘छोराको न्याय पनि छैन । सामसुम भएर गइसक्यो । म न्याय खोजिरहेको छु । न्याय पाए म धेरै खुसी हुने थिएँ । श्रीमान् गइसके । छोरा पनि गइसक्यो । अब म कसरी बस्ने ? बस्नै गाह्रो भयो मलाई । न्याय मिले मेरो मन शान्त हुने थियो ।’

सारुकको सम्झनामा तयार पारिएको डकुमेन्ट्रीमा उनकी आमासहित परिवारका अन्य सदस्यले उनको हुकाई, बढाई, पढाई, रुचि, आनीबानी, व्यवहारबारे स्मरण गरेका छन् । ‘ह्यासट्याग माया’मा काम गर्न थालेपछि सारुक बदलिएको अनुभव पनि सुनाएका छन् । सारुक नजिकका साथी एवं सहकर्मी कलाकारहरूले भने उनको मिलनसार बानी, भद्र र हँसिलो स्वभावको प्रशंसा गरेका छन् ।

सार्वजनिक डकुमेन्ट्रीमा सारुकले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’का केही दृश्यहरू पनि राखिएको छ । फिल्मका लागि खिचिएको सारुकको लगभग ९ मिनेटको सिन डकुमेन्ट्रीमा हेर्न सकिन्छ । उनको निधनसँगै यो फिल्मको निर्माण रोकिएको छ, जसलाई राजिव गुरुङले निर्देशन गरेका थिए । डकुमेन्ट्रीको कन्सेप्ट, भिजुअल इडिटिङ एवं जीएफएक्स निशा मानन्धरको हो ।