निर्देशक मिलन चाम्सले बनाउने फिल्मको घोषणा होस् वा प्रिमियर, तामझाम गजब नै देखिन्छ । अघिल्लो वर्ष प्रदर्शन भएको उनी निर्देशित फिल्म ‘गोर्खा वारियर’को बेलायतदेखि नेपालसम्मको प्रिमियर उदाहरणीय थियो । अब यही शुक्रबार (भदौ १४ गते)बाट मिलनको अर्को फिल्म ‘वर एन्ड वधु’ प्रदर्शन हुँदैछ । यसको घोषणा कार्यक्रम नै भव्य थियो । अब प्रिमियर झनै विशेष बनाइँदैछ ।
मंगलबार बेलुका पोखरास्थित मिडटाउन हलमा फिल्मको पहिलो प्रिमियर गरियो । कलाकारदेखि निर्मातासम्मको उपस्थिति रहेको प्रिमियर काठमाडौंमा हरेक साता गरिने नेपाली फिल्मको प्रिमियरभन्दा पनि भव्य देखिन्थ्यो । लाइटिङदेखि फूलहरुले प्रिमियरलाई झकिझकाउ बनाइएको थियो । पोखरा प्रिमियरमा फिल्मले प्रतिक्रिया पनि एकदमै उत्कृष्ट पाएको निर्देशक चाम्सले बताएका छन् ।
प्रिमियरमा सहभागी हुन काठमाडौंबाट निर्देशक चाम्ससँगै निर्मात्री जानुका थापा, कलाकारहरु किरण केसी, आँचल शर्मा, विवेक कर्मचार्य, कुसुम शर्मा र विजु पार्की पोखरा पुगेका थिए । पोखरा प्रिमियरमा मिलेको प्रतिक्रियाले आफू उत्साहित भएको आँचलले बताएकी छन् । आफैंले पनि पहिलो पटक ‘वर एन्ड वधु’ हेरेकी उनी फिल्म राम्रो बनेकाले दर्शकहरुलाई मनपर्नेमा विश्वस्त छिन् ।
पोखरापछि अब बुधबार साँझ ललितपुरस्थित एक हलमा फिल्मको फरक शैलीमा प्रिमियर गरिँदैछ । निर्देशक चाम्सले नेपालमा नै पहिलो पटक रेड कार्पेट ‘मिरर वाक प्रिमियर’ गर्न लागिएको जानकारी दिए । यसबाट प्रिमियरमा उपस्थित हुने अतिथिहरुले नयाँ अनुभव गर्न पाउने उनले बताए । ट्रेलर रिलिजपश्चात् चर्चामा रहेको फिल्मले हलमा सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।