मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो ‘वर एन्ड वधु’को ‘मिरर वाल्क’ प्रिमियर (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/08/29

निर्देशक मिलन चाम्सले आफ्नो हरेक फिल्मको प्रिमियरमा तामझाम देखाउन कुनै कसर छाड्दैनन् । यसैले त फिल्मभन्दा उनको प्रिमियर गर्ने शैलीको बढी प्रशंसा हुन्छ । गत वर्ष आएको फिल्म ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरलाई उनले युद्धस्थल जसरी सिंगारेका थिए । यही शुक्रबार (भदौ १४ गते)देखि प्रदर्शन हुन लागेको ‘वर एन्ड वधु’को प्रिमियर पनि मिलनले फरक शैलीमा गरे ।

 

bar and badhu 2


बुधबार साँझपख ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा राखिएको प्रिमियरलाई ‘मिरर वाल्क’ नाम दिइएको थियो । जहाँ सिसाझैँ देखिने कार्पेट विछ्याइएको थियो भने त्यसको दाँया-बायाँ फूल राखेर सजाइएको थियो । यो शैलीमा पहिलो पटक नेपालमा प्रिमियर गरिएको हो । हल रहेको भवनको भूइँ तल्लामा भने रेड कार्पेट विछ्याएर तस्वीर खिच्न आकर्षक सेटहरु राखिएका थिए ।

प्रिमियरको तामझामले उपस्थित अतिथिहरुलाई लोभ्याएको देखिन्थ्यो । हरकोहीले प्रिमियरलाई आकर्षक बनाउन गरिएको खर्च र मिहिनेतको चर्चा गरेका थिए । प्रिमियर गर्ने शैलीको जति प्रशंसा भयो, फिल्मले पनि राम्रो प्रतिक्रिया पायो । अधिकांशले फिल्मको प्रोडक्सन भ्यालुको तारिफमा शब्द खर्चिए । दृश्यहरु आँखालाई शीत्तल बनाउने खालको रहेको प्रतिक्रिया सबैभन्दा बढी सुनियो ।

 

bar and badhu 2


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कथा सामान्य नै भए पनि फिल्म मनोरञ्जनात्मक रहेको बताए । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय तथा निर्देशकीय पाटोको प्रशंसा गरे । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्ममा सन्देशसहितको मीठो लभस्टोरी रहेको बताइन् । उनलाई फिल्मको ‘प्रोडक्सन भ्यालु’ले भने लोभ्याएछ ।

कलाकार केदार घिमिरे (माग्ने बुढा)ले फिल्मका सबै कलाकारको काम राम्रो रहेको भन्दै तारिफ गरे । अर्का कलाकार जितु नेपाल (मुन्द्रे)ले फिल्म पूर्ण मनोरञ्जनात्मक रहेको दाबी गरे । अभिनेत्री मिरुना मागरले आफूले ‘भिजुअल ट्रिट’ पाएको अनुभव सुनाइन् । अर्की अभिनेत्री पशुपति राईले फिल्मको मेकिङको प्रशंसा गर्दै लभस्टोरी मनपराउने दर्शकलाई निकै मनपर्ने विश्वास व्यक्त गरिन् ।

 

bar and badhu 2


प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त भएपछि फिल्मका निर्देशकदेखि कलाकारदेखि प्रफुलित देखिएका थिए । प्रिमियरमा आकर्षणको केन्द्रविन्दू भने अभिनेत्री आँचल शर्मा बनेकी थिइन् । उनले लगाएको पिंक गाउन आकर्षक देखिन्थ्यो । यही फिल्मबाट डेब्यु गरेका विवेक कर्माचार्य भने कालो रंगको सुटबुटमा ठाटिएर पुगेका थिए । पहिलो फिल्म भए पनि विवेकको अभिनय राम्रो देखिएको छ ।