अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनेको फिल्म ‘एक्टर’को एक साताअघि फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जसमा प्रदीप पाँच भिन्न चरित्रमा प्रस्तुत थिए । तर, उक्त पोस्टर युट्युबका लागि बनाउने थम्बनेलभन्दा पनि कमजोर रहेको भन्दै टिप्पणी भयो । प्रदीपले टाउकोमा ब्यान्डेज बाँधेको गेटअप बलिउड फिल्म ‘जवान’बाट प्रभावित भएको आरोप समेत लाग्यो ।
फर्स्टलुक पोस्टरलाई लिएर आलोचना भएपछि निर्माण टिमले बिहीबार दोस्रो पोस्टर सार्वजनिक गरेको छ । यसमा पनि प्रदीप मात्र प्रस्तुत छन् । उनको अनुहारभरि चोटैचोट देखिन्छ । घाँटीबाट रगत चुहिरहेको छ । कालो टिसर्ट र लामो कपालमा देखिएका उनी कसैको भौतिक आक्रमणमा परेको प्रष्ट बुझ्न सकिन्छ । फिल्ममा उनले कलाकारकै भूमिकामा अभिनय गरेको जानकारी प्राप्त छ ।
कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । प्रदीपसहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । क्रियटिभ प्रोड्युसर मोती कार्की र लाइन प्रोड्युसरमा तोरन क्षेत्री रहेका छन् ।
आकाश बराल र निर्देशक भुसालको लेखन रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । अदृत फिल्मस तथा मोती फिल्मसको प्रस्तुति रहेको फिल्ममा शिशिर खाती र किरण थापा नृत्य निर्देशन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र एलिस कार्कीको संगीत छ । कात्तिक १५ मा ‘एक्टर’को भिडन्त ‘मायावी’सँग हुँदैछ । यो मितिमा अर्को एउटा फिल्म पनि थपिने चर्चा छ ।