मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘खुस्मा’को ‘रुकुम मैकोट’लाई अर्गानिक गीत भन्दै प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2024/08/29

Dhiraj Magar, Upasana Singh Thakuri

 

द्वन्द्वकालीन समयको प्रेमकथामा बनेको फिल्म ‘खुस्मा’ आगामी असोज ३ गते (संविधान दिवस)देखि प्रदर्शनमा आउने तयारीमा छ । टिजर र ‘खुसीका फूल बटुलेर’ बोलको गीतले राम्रो चर्चा पाइरहँदा तीन दिनअघि फिल्मको दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको थियो । जसलाई यतिबेला युट्युबमा राम्रो भ्यूज र प्रतिक्रिया मिलिरहेको छ । गीत युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

चार लाखभन्दा बढी भ्यूज पाइसकेको गीतलाई दर्शकले अर्गानिक र मौलिक भन्दै प्रशंसा गरिरहेका छन् । अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको केमेस्ट्री र नृत्यलाई पनि रुचाइएको छ । गीतमा देशको पहिचान झल्किएको, रुकुम पूर्वी क्षेत्रको संस्कृति र भेषभूषालाई प्रस्तुत गरिएको जस्ता प्रतिक्रिया पनि गीतमा धेरै देखिन्छन् । यसको अर्थ दर्शकलाई गीतले लोभ्याएको छ ।

‘रुकुम मैकोट’ गीतलाई अब्बल प्रतिक्रिया मिलेकोमा निर्देशक अशोक थापा मगरले खुसी व्यक्त गरे । उनले यो गीतलाई फिल्ममा कथावाचनको रुपमा समावेश गरिएको पनि जानकारी दिए । निर्देशनको हिसाबले अशोकको यो पहिलो फिचर फिल्म हो । उनले निर्देशन गरेका केही डकुमेन्ट्रीले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवबाट अवार्ड जितेको थियो । ‘खुस्मा’मा उनी स्वयंको लेखन रहेको छ ।

फिल्ममा धीरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, संगीता थापा मगर, अस्तित्व भट्टचन, अरुण मगर लगायतले पनि अभिनय गरेका छन् । केही दिन अगाडि ‘रुकुम मैकोट’ गीत सार्वजनिक कार्यक्रममा धीरज र उपासनाले फिल्मको स्क्रिप्ट पढ्दा रोएको स्मरण गरेका थिए । उनीहरुबीच पहिलोपटक सहकार्य भएको हो ।