मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रावायण’मा ‘काल्का’ बन्न प्रकाशको मिहिनेत: भाषा सिक्न वीरगञ्ज बसे, महिनौं कपाल काटेनन्

फिल्मीखबर, काठमाडौं, 2024/08/29

हिरोको परम्परागत हुलियामा अटाउँछन्, प्रकाश शाह । तर, उनको चरित्र छनोट अलग देखिन्छ । उनले आफूलाई हिरोको रुपमा नभइ भिलेनको रुपमा स्थापित गराउन खोजिरहेका छन् । पहिलो फिल्म ‘लभ स्टेशन’मा नै उनी स्टाइलिस भिलेन बनेर प्रस्तुत भए । त्यसपछि ‘साङ्लो’मा पनि उनी भिलेनको भूमिकामा देखिए । अब उनी तेस्रो पटक भिलेन बनेर फिल्म ‘रावायण’मा देखिँदैछन् ।

 

Prakash Shah  (1)


यसमा प्रकाशको चरित्रचित्रण अघिल्ला दुई फिल्मभन्दा फरक छ । तराई भेगको ‘काल्का’ पात्रको भूमिका निभाएका उनको लुक्स नै डरलाग्दो देखिन्छ । एउटा आँखामा ‘स्टोन’ हालिएको छ । लामो कपाल र दाह्री जुँगाले कुनै साउथको खुंखार भिलेन झैँ लाग्छ । उनको लुक्सले छायांकन हेर्न आएका मानिसहरु पनि डराउँथे । उनलाई आफ्नो चरित्र दर्शकले सधैं सम्झिरहन्छन् भन्ने विश्वास छ ।

प्रकाश भन्छन्, ‘फरक चरित्र निभाउने मेरो इच्छा ‘रावायण’ले पूरा गरेको छ । सुदर्शन थापा दाई (निर्देशक)ले मेरो चरित्र सुनाउँदा यसलाई दर्शकले सधैंभरि सम्झिरहन्छन् भन्ने भएको थियो ।’ उनको बुझाईमा ‘काल्का’ चरित्र कालको पनि काल हो । तर, सुरुमा उनलाई अर्कै चरित्रका लागि निर्देशकले कुरा गरेका थिए । जब स्क्रिप्ट पढे, त्यसपछि प्रकाशलाई ‘काल्का’ चरित्रले बढी लोभ्यायो ।

 

Prakash Shah  (1)


‘मसँग प्रमोद अग्रहरी दाईको ‘आलम’ चरित्रका लागि प्रस्ताव गरिएको थियो । स्क्रिप्ट पढेपछि भने म ‘काल्का’मा लोभिएँ । यो चरित्र जति शक्तिशाली छ, यसलाई निभाउन पनि उस्तै चुनौतीपूर्ण थियो,’ उनी सम्झन्छन् । फिल्ममा उनको चरित्र वीरगञ्ज बस्ने भोजपुरी देहातीको हो । यो चरित्रमा आफूलाई ढाल्न प्रकाशले गरेको मिहिनेत पनि कम छैन । दश दिन जति उनी वीरगञ्जमा बसेका थिए ।

‘म पश्चिमको ठकुरी तर, फिल्मको क्यारेक्टर टिपिकल भोजपुरी देहाती छ । मलाई देहातीको बारेमा पहिला थाहा थिएन । यसैले म वीरगञ्जमा १० दिन बसेँ । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने सिकेँ,’ उनी सम्झन्छन्, ‘वीरगञ्ज बसाईंका क्रममा त्यहाँ १०-१० किलोमिटरको फरकमा भिन्न-भिन्न भाषा बोलिने रैछ भन्ने थाहा पाएँ । त्यसपछि म थप भाषा बुझ्न परासी गएँ ।’

 

Prakash Shah  (1)


‘रावायण’मा प्रकाश जुन लुक्समा प्रस्तुत भएका छन्, त्यसका लागि पनि उनले ठूलो मिहिनेत गरेका छन् । ‘क्यारेक्टरकै लागि तीन महिनासम्म दाह्री, जुँगा र कपाल काटिनँ । कपाल पनि देहातीकै जस्तो बनाएँ । फोहोरी देखिन मुख पनि धोइनँ । मैले केही नयाँ देखाउनुपर्छ भन्ने भएको थियो । मलाई यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा पूर्ण विश्वस्त छु,’ प्रकाश सुनिए ।

फिल्ममा प्रकाश दुई फरक अवस्थामा देखिनेछन् । तर, दोहोरो चरित्र भने होइन । आफ्नो चरित्रबारे स्पष्ट पार्दै उनी भन्छन्, ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को उमेरले अलि पाको । युवावस्थामा हुँदा त्यो एरियामा मेरो वर्चस्व नै हुन्छ । समयसँगै ऊ शक्तिविहीन हुँदै जाँदा भैंसीपालनतिर लाग्छ । कान्छा (पल शाह)को आगमनपश्चात् ऊ पुनः पुरानो काममा फर्कन्छ ।’

 

Prakash Shah  (1)


प्रकाशले ‘काल्का’ चरित्रमा आफूलाई ढल्न जति मिहिनेत गरे, त्यसबाट बाहिर निस्कन पनि उनलाई सहज भएन । ‘फिल्ममा काम गरिसकेपछि क्यारेक्टरबाट बाहिर निस्कन समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । तराईको गर्मी र लामो समय ननुहाउँदा म बिरामी नै भएको थिएँ,’ उनी सम्झन्छन् । ‘रावायण’ यही भदौ २१ गतेबाट प्रदर्शन हुँदैन ।