निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् । फिल्म क्षेत्रमा उनी विगत तीन दशकदेखि सक्रिय छन् ।
बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम तालुकवाला निकाय सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सबैभन्दा अगाडि डिसीले नै आवेदन दिएका थिए । र, सुरुदेखि नै उनलाई बोर्ड अध्यक्षको बलियो दाबेदार मानिएको थियो ।
दिनेश प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा पहुँच राख्न सक्ने फिल्मकर्मी हुन् । यसअघि एमाले सरकारमा हुँदा पनि उनलाई बोर्ड अध्यक्ष बनाउन ओली आफैंले इच्छा देखाएका थिए । तर, त्यसबेला डिसीले इच्छा देखाएनन् । यसपटक भने एमाले सरकारमा आएलगत्तै उनले बोर्ड अध्यक्ष बन्न लबिङ सुरु गरेका थिए । र, प्रधानमन्त्री ओलीसँग उनको पटकपटक भेट भएको थियो ।
एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका डिसी टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय यात्रा सुरु गरेका उनले ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
सन् २००६ मा आएको फिल्म ‘सावधान’बाट निर्देशन करिअर सुरु गरेका उनले त्यसपछि ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ हुँदै पछिल्लो पटक ‘फूलै फूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । २०७९ सालमा उनले आफ्नो निर्देशनमा नयाँ फिल्म ‘सर्वजीत’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । उनी चाँडै फिल्म ‘एक्लो’मा काम गर्दैछन् ।
बोर्ड अध्यक्ष हाँक्ने जिम्मेवारी पाएसँगै डिसीसामु चुनौतीको चाङ छन् । नाम मात्रको बनेको बक्स अफिसलाई कार्यान्वयन गर्नुपर्ने, नयाँ ऐन पास गर्न पहल गर्नुपर्ने, सञ्चार मन्त्रालयको कठपुतली बनेको बोर्डलाई स्वायत्त बनाउनु पर्ने जस्ता विषय उनको कार्यकालको चुनौतीको रुपमा रहनेछ । फिल्म क्षेत्रको समस्या नजिकबाट बुझेकाले उनीप्रति फिल्मकर्मीहरुको ठूलो अपेक्षा देखिएको छ ।