मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक १५ मा थपियो ‘पूर्ण बहादुरको सारङ्गी’, त्रिपक्षीय भिडन्त निश्चित

फिल्मीखबर, काठमाडौं, 2024/08/30

purna-badhur-ko-sarangi

 

दशैंको फूलपातीपछि अब तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । शुक्रबार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

फर्स्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय विजय बराल र प्रकाश सपूत चित्रित छन् । विजय फुलेको दाह्री र कपालमा खुसी भावमा देखिएका छन् भने प्रकाश फूलको माला लगाएर हातमा मार्कसिट लिएर खुसी हुँदै दौडिरहेका छन् । यसले उनी कक्षामा पहिलो भएको संकेत गर्छ । फिल्ममा विजय र प्रकाश बुबा-छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । पोस्टर अर्थपूर्ण छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा, देशभक्त खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने, अलिसा बास्तोला, जानवी पौडेल, श्याम केसी लगायतले पनि अभिनय गरेका छन् । यसमा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता तथा कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मले सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथालाई उठाएको छ । यसमा शिवराम श्रेष्ठ छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सुरेन्द्र पौडेलको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । नेपालकै मिति (कात्तिक १५)मा फिल्मलाई विश्वभर प्रदर्शन गरिने निर्माण कम्पनी सेभेन सिज सिनेमाजले जनाएको छ ।