आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो संसार’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३७ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । सहरमा बसोबास गर्ने एउटा मध्यम वर्गीय परिवारको संघर्ष, आम्दानी नहुँदा उत्पन्न कलह र सन्तानको विदेश मोहलाई टिजरले मर्मस्पर्शी रुपमा देखाएको छ । फिल्मको दृश्यभाषा बलियो हुनसक्ने देखिन्छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ । निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।
राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको संयुक्त लेखन छ । यसमा प्रवीन खड्काको छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन तथा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी रहेको छ । केही दिनअघि फिल्मको पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक गरिएको थियो, जुन विस्तारै रुचाउन थालिएको देखिन्छ ।