आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक करिब २ मिनेट लम्बाईको टिजरमा बाबु-छोराबीचको भावनात्मक सम्बन्धलाई देखाइएको छ । छोराका लागि बाबुले गरेको त्याग र देखेको सपनाको कथामा फिल्म केन्द्रित रहेको टिजरले प्रस्ट्याउन खोजेको छ । टिजर मर्मस्पर्शी छ ।
अभिनेता विजय बरालको दाह्री-जुँगा सेत्तै फूलेका छन् । गरिबीका कारण सारङ्गी रेट्दै गाउँ-गाउँमा पुग्छन् । दुःख र विरहका गीत गाउँछन् । तर, छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने उनको सपना छ । उनको छोराको भूमिकामा देखिएका अभिनेता प्रकाश सपूत एसएलसीमा ‘डिस्टिङ्सन’ ल्याएर पढ्नका लागि सहर जाँदा उनी चढेको गाडी हेर्दै विजय गहभरी भएको दृश्य मन छुने छ ।
सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, जानवी पौडेल लगायतको अभिनय छ । सेभेन सिज सिनेमा तथा ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको संयुक्त प्रस्तुतिमा बनेको फिल्मको निर्मातामा विनोद पौडेल र प्रतीक सुवेदी छन् ।
यो फिल्मलाई नेपालसहित विश्वभर सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । गन्धर्व परिवारको कथामा आधारित रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् भने कथा निर्देशक पौडेल स्वयंको हो । रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन छ भने प्रशान्त सिवाकोटीको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ ।