नेपालमा फरक धारका फिल्मलाई व्यापारिक हिसाबले उतिधेरै सुरक्षित मानिँदैन । यसैले बजारमा जे चलेको छ, त्यसैमा लगानीको ओइरो लाग्छ । जसले गर्दा फरक विषयमा विरलै फिल्म बन्छन् । यही शुक्रबार अर्थात् भदौ २१ गते (तीजको दिन)बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’ले पनि सुरुवातमा निर्माता पाएको थिएन । किनकि यसको कथा बजारबाट निर्देशित थिएन ।
‘कमर्शियल’ फिल्म नभएको भन्दै कसैले लगानी गर्न नचाहेपछि अभिनेत्रीको रुपमा जोडिएकी शिल्पा मास्के निर्माणमा सहकार्य गर्न तयार भइन् । उनी सम्झन्छिन्, ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो ।’
निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने शिल्पाको अनुभव छ । ‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती चाहिँ एकदमै हुँदो रहेछ,’ उनी अनुभव सुनाउँछिन्, ‘प्रचारमा हुँदा समेत दिमाग धेरै ठाउँमा पुग्ने रहेछ । निर्माता बन्नु गाह्रो काम हो । तर, पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ ।’ यो फिल्म व्यावसायिक रुपमा सफल भए आगामी दिनमा पनि निर्माणलाई निरन्तरता दिने शिल्पाको योजना छ ।
‘देवी’मा व्यापारका लागि लगानी नगरेको उनी प्रष्ट पार्छिन् । ‘व्यापारिक दृष्टिकोणले मैले यसमा लगानी गरेको होइन । त्यो हिसाबले त क्राइम-थ्रिलर फिल्ममा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि फिल्म बनाऊँ, मिहेनत गरेर राम्रो भए ‘कमर्शियल भ्यालु’ हुन्छ भनेर काम गर्यौं,’ उनले भनिन् ।
फिल्मले बलात्कारको घटनालाई उठाएको छ । र, यसमा शिल्पाले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन् । पहिला उनलाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान थिएन । यसैले उनले छायांकनभन्दा अगाडि एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेट गरेर अनुभव सुनेकी थिइन् । त्यसले चरित्रको तयारी गर्न आफूलाई ठूलो सहयोग पुगेको उनको भनाई छ ।
‘देवी’ले उठाएको विषयमाथि पनि धेरै अनुसन्धान गरेको शिल्पा स्मरण गर्छिन् । ‘स्क्रिप्टमा बस्दा यी चीजहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल हेर्यौं । हामीले यो विषयमा गहिरोसित अध्ययन गरेका थियौं,’ उनले भनिन् । उनी ‘देवी’लाई सत्य घटनाबाट लिइएको ‘फिक्सनल’ (काल्पनिक) कथा मान्छिन् ।