मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 1.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षको पदभार सम्हाल्दै डिसीले भने- ‘म बोल्न होइन, काम गर्न आएको हुँ’

फिल्मीखबर, काठमाडौं, 2024/09/02

dinesh dc

 

गत बिहीबार चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका निर्देशक तथा कलाकार दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । आइतबार सञ्‍चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका उनले सोमबार बिहान चाबहिलस्थित बोर्डको केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका हुन् । सुटबुटमा ठाटिएका डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि श्रीमद्भगवद गीता ढोगेर मन्त्रोच्चारण गरेका थिए ।

अध्यक्ष डिसीलाई बोर्डका कर्मचारीहरुले फूलमाला लगाउँदै स्वागत गरेका थिए भने उनलाई बधाई दिन फिल्मकर्मीहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो । पदभार ग्रहण गर्दै उनले बोर्डमा आफ्नो पहिलो कार्यको रुपमा फिल्म ‘ज्ञान शास्त्र’लाई निर्माण इजाजत दिँदै हस्ताक्षर गरे । त्यसपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बोल्नका लागि नभइ काम गरेर देखाउन आएको जिकिर गरे ।

उनले भने, ‘मैले बोल्ने काम जिन्दगीमा धेरै गरेँ । बोलेरै धेरै फिल्ममा काम गरेँ । फिल्म निर्देशन र निर्माण पनि गरेँ । तर, यसपटक म काम गर्न आएको छु । म जागिर खानका लागि आएको होइन । काम गरेर अवश्य देखाउनेछु ।’ भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्नेदेखि बक्स अफिस कार्यान्वयन गर्नेसम्मका प्रतिवद्धता उनले जनाएका छन् । बोर्डमा उनको कार्यकाल २ वर्षको हुनेछ ।

सन् १९९७ मा आएको फिल्म ‘सुनचाँदी’बाट डिसीको अभिनय करिअर सुरु भएको थियो । त्यसयता उनले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् भने ‘सावधान’, ‘मायाज् बार’, ‘६ एकान ६’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता फिल्मको निर्देशन पनि गरेका छन् । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष रहेका उनी चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत हुन् ।