मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म बनाउने बोर्डको निर्णय उल्ट्याउँदै दिनेश डिसी

फिल्मीखबर, काठमाडौं, 2024/09/03

एक वर्षअघि चलचित्र विकास बोर्डले गरेको एउटा निर्णय विवादित बन्यो । बोर्ड आफैंले फिल्म बनाउने निर्णय गरेको थियो । र, यो निर्णयलाई तालुकवाला निकाय सञ्‍चार तथा सूचना मन्त्रालयले स्वीकृति दिएर बजेट समेत पास भइसकेको छ । फिल्म निर्माण गर्न ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, फिल्म बनाउने बोर्डको निर्णयप्रति फिल्मकर्मीहरूले भने आपत्ति जनाइरहेका छन् ।

अब यो निर्णय नयाँ अध्यक्ष दिनेश डिसीले उल्ट्याउने भएका छन् । सोमबार अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै उनले बोर्डको काम फिल्म बनाउने नभएकाले त्यो निर्णय हटाउने घोषणा गरे । उनले भने, ‘बोर्डको काम फिल्म बनाउने हैन । बजेटमा फिल्म बनाउने लेखिएको छ रे, त्यो तुरुन्त काटिन्छ । बोर्डको काम फिल्म बनाउनेहरूलाई सहयोग गर्ने हो । सही नीति दिएर व्यवस्थित गर्ने हो ।’

 

Dinesh DC


अध्यक्ष डिसीले सय दिनभित्र नयाँ ऐन पास हुने समेत ठोकुवा गरे । ‘म सेन्सर सिफारिस दिनका लागि मात्र बोर्डमा आएको होइन । ढुक्क हुनुस्, अबको सय दिनभित्रमा नयाँ ऐन आइसक्नेछ । र, एउटा स्टुडियो मेरो कार्यकालमा बनिसक्छ । त्यसका लागि पैसाको व्यवस्था हामी गर्छौं । साथै, बोर्ड अध्यक्षको कार्यकाल ४ वर्षको हुने व्यवस्था पनि अबको सय दिनभित्रमा भइसक्छ,’ डिसीले भने ।

बोर्डमा आफूले ‘जीरो’बाट सुरु गर्ने उनको भनाई छ । र, कसैलाई सोधेर काम गर्न बोर्डमा नआएको उनी बताउँछन् । ‘म जीरोबाट सुरु गर्न चाहन्छु । म बोर्डमा कसैलाई सोध्न र सोधेर काम गर्न आएको होइन भन्ने कुरामा विश्वस्त छु । म सोध्दिनँ, काम गरिरहन्छु,’ उनले अगाडि भने, ‘स्वदेशी फिल्मको हकहितमा काम गर्नका लागि म कहिले सीधा बाटो र कहिले चोर बाटोहरु म प्रयोग गर्नेछु ।’

उनले कर्मचारीबाट असहयोग भएको महसुस भए ‘पावरलेस’ गर्ने समेत चेतावनी दिए । अध्यक्ष डिसीले भने, ‘मैले काम गर्ने क्रममा बोर्डका साथीहरूबाट असहयोग भए म उहाँलाई ‘पावरलेस’ गर्नेछु । र, बोर्डमा म एक रुपैयाँ तलमाथि गर्दिनँ । भ्रष्टाचार भएको वा कमिसनमा मुसिएको भन्ने थाहा भयो भने ३० मिनेटमा ‘पावरलेस’ गर्छु । र, प्रमाणित भए ५ मिनेटभित्रमा गेटबाट बाहिर पठाउँछु ।’

अध्यक्ष डिसीले अबको ४ वर्षमा एउटा फिल्मको निर्देशन गर्ने समेत जानकारी गराए । ‘मैले चारवटा फिल्म सम्झौता गरिसकेको छु । तर, तीनवटा चाहिँ गर्दिनँ । अबको ४ वर्षमा एउटा फिल्म निर्देशन गर्छु,’ उनले भने । पछिल्लो पटक उनले फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । डिसी एमालेका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा पहुँच राख्छन् ।