अभिनेता पल शाहले फिल्ममा ‘रोमान्टिक लभर ब्वाईको छवि’ बनाएका छन् । पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’देखि उनी रोमान्टिक भूमिकामा देखिँदै आएका छन् । र, यो नै उनको ‘कम्फर्ट जोन’ बनेको छ । तर, यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’बाट उनी आफ्नो ‘छवि’ बदल्न खोज्दैछन् । किनकि, यसमा उनी एक्सन भूमिकामा छन् । त्यसमा पनि दोहोरो चरित्र छ ।
यसमा उनी राघव र कान्छाको चरित्रमा छन् । जसमध्ये एउटा नकारात्मक र अर्को सकारात्मक चरित्र हो । दुई चरित्र फरक-फरक भएकाले मुडदेखि गेटअप सबै परिवर्तन गर्दा गाह्रो भएको पलको अनुभव छ । कहिले डमीसँग, कहिले खाली फ्रेममा, कहिले ग्रीन पर्दा राखेर एउटै सिन उही फ्रेममा उस्तै भावभंगीमा एउटै संवाद बोल्दा उनलाई ‘किन चाहिँ फिल्म गरेछु’ भन्ने पनि लागेको रहेछ ।
उनी छायांकन बेलाको क्षण सम्झँदै भन्छन्, ‘एक्सन पार्टमा ‘रियाक्सन’ लिन एकदमै गाह्रो हुन्थ्यो । कान्छाले राघवलाई मुक्का हान्छ । हान्दा त केही छैन । तर, त्यो खान गाह्रो छ । किनकि, उस्तै शैलीमा लड्नुपर्छ, ‘रियाक्सन’ पनि त्यस्तै हुनुपर्छ । फेरि एकछिनमा कान्छा बनेर राघवलाई हान्दाको रिस निकाल्न उस्तै गाह्रो हुन्थ्यो । मेरो एक्सप्रेसन बिग्रिएला कि भनेर एडीहरुले ध्यान दिएर हेर्थे ।’
पलले फिल्ममा एक्सनका लागि गरेको मिहिनेत पनि सानो छैन । छायांकनअघि करिब एक महिना एक्सनको तामिल लिएका उनले छायांकनमा तीन/चार दिनसम्म निरन्तर तराई भेगमा ४२ डिग्रीको तापक्रममा एक्सन गरेका थिए । तर, दुःख धेरै भए पनि अब्बल काम निस्किएकोमा उनी खुसी छन् । उनलाई राघव र कान्छामध्ये कान्छाको चरित्रबाट बाहिर निस्किन भने समय लागेको रहेछ ।
‘मलाई कान्छाको चरित्रबाट बाहिर निस्किन निकै गाह्रो भएको थियो । त्यसको एटीट्यूड, स्टाइल छाडेर राघवमा आउन गाह्रो थियो । निर्देशकले मलाई राघव त तिमी जस्तै हो । कान्छाको चरित्रमा चाहिँ मिहिनेत गर्नुपर्छ भनेर भन्नुभएको थियो । त्यसैले कान्छालाई ‘फोकस’ गर्दा राघवको चरित्र निभाउँदा पनि कान्छाको रिस आइहाल्थ्यो । त्यो चीजमा असाध्धै गाह्रो भएको थियो,’ उनले सम्झिए ।
टिजर र ट्रेलरमा दाह्री-जुँगाको गेटअपमा पल निकै आक्रामक देखिएका छन् । उनको भनाईमा त्यो गेटअप कान्छाको हो । आफ्नो चरित्रबारे उनी भन्छन्, ‘कान्छा तराई भेगको पात्र हो । उसको घर जनकपुरमा छ । तर, आमा-बुबा छैन । आमालाई बाबुले गरेको वितण्डा देखेर बाबुलाई नै मारेर ऊ जनकपुर पुग्छ । उसलाई त्यहाँको जमिन्दारले पालेर राखेको हुन्छ । राघव भने पाइलट हुन्छ ।’
पलले निभाएको कान्छा चरित्र नकारात्मक छ । त्यसका लागि उनले फिल्म ‘पूजार सार्की’को छायांकनको समयमा आफूले चिनेको केही व्यक्ति (जो डनको रुपमा चिनिएका छन्)सँग संगत गरेका रहेछन् । ‘मलाई गुण्डा जसरी हाँस्न आउँदैन थियो । त्यसैले बोल्ने, खाने, हिँड्ने, लगाउने तरिका सिक्नका लागि मैले देखिरहेको र चिनिरहेको केही दाईहरुसँग संगत नै गरेको थिएँ,’ उनले सम्झिए ।
उनलाई सुरुमा ‘रावायण’ नामले नै आकर्षित गरेको रहेछ । ‘मलाई ‘रावायण’ शब्द नै मन परेको थियो । ‘रामायण’ त बच्चैदेखि हेर्दै आएको हो । ‘रावायण’ चाहिँ रावणको कथा हो । मलाई निर्देशकले रावणको कथा देखाउँदा कस्तो होला भनेर कथा सुनाउनुभयो । त्यसमाथि दुईवटा भूमिका भएकाले मलाई एकदमै चाख लाग्यो ।’ यस फिल्मले आफूलाई एक तह माथि लैजाने उनको विश्वास छ ।