यही शुक्रबार (तीजको विदा)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को ट्रेलरमा निर्मला पन्त हत्या प्रकरणको बारेमा पत्रिकामा लेखिएको एउटा ‘कटआउट’ प्रयोग छ । जसले गर्दा धेरैले निर्मला पन्तको घटनामा आधारित भएर फिल्म बनेको हुनसक्ने अनुमान गरेका छन् । तर, यसका निर्देशक सञ्जोग राईले कोही पनि बलात्कार पीडितलाई प्रयोग गरेर फिल्म नबनाएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले कोही बलात्कार पीडितलाई प्रयोग गरेर फिल्म बनाएका होइनौं । ट्रेलर रिलिजपछि धेरैले निर्मल पन्तको घटनामा फिल्म बनेको भनिरहेका छन् । तर, निर्मला मात्र होइन, अरु धेरै बलात्कारको घटनाको बारेमा बनेको फिल्म हो । एउटा ‘कटआउट’ले गर्दा निर्मला पन्तको घटनामा बनेको भन्ने लागेको हुनसक्छ । तर, त्यो होइन । ‘देवी’मा निर्मला भनेर नाम पनि छैन ।’
सञ्जोगलाई बलात्कारको घटनामा फिल्म बनाउनुपर्छ भनेर आफ्नो घर नजिकै भएको एक घटनाले लागेको रहेछ । ‘मेरै घर नजिकै (गोदाबारी)मा एक बच्चीलाई केही व्यक्तिहरुले ‘किडन्याप’ गरेर एक हप्तासम्म बलात्कार गरेका थिए । तर पनि त्यो बच्चीले न्याय पाउन सकिनन् । त्यो घटनाले मलाई एकदमै ‘ट्रिगर’ गर्यो । त्यसपछि यो विषयमा फिल्म बनाउनुपर्छ भन्ने लाग्यो,’ उनी सम्झन्छन् ।
निर्देशक राईलाई आफूले बलात्कारको घटनामा निष्पक्ष भएर नै ‘देवी’ बनाएको छु भन्ने लाग्छ । उनले फिल्मका लागि बलात्कारको घटनाको बारेमा धेरै अनुसन्धान पनि गरेका रहेछन् । उनले सम्झिए, ‘२०१९ मा बलात्कारसहित हिंसाजन्य २७ हजार मुद्धा दर्ता थिए । कति मुद्धा अदालतमा गएर पनि हेरेँ । कति मुद्धाहरु अदालतबाहिर २ हजारदेखि ५ हजारसम्ममा सल्टाएर पठाएको पनि देखेँ ।’
फिल्मबाट केही बोल्न सकियो र त्यसले एउटा बहस मात्र भए पनि सुरु गर्यो भने राम्रो हुन्छ भन्ने सोचाईले ‘देवी’ बनाएको निर्देशक राईको भनाई छ । फिल्मको नाम भने शास्त्रसँग नभएर नेपाली समाजसँग जोडेर राखेको उनले बताए । समाजमा महिलालाई देवी भन्दै पुजिने र त्यही समाजमा महिलाको बलात्कार र हत्या हुने गरेकाले फिल्मको नाम ‘देवी’ राखिएको सञ्जोगले स्पष्ट पारेका छन् ।