दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा अभिनेता हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्र निकै रुचाइएको थियो । अझै पनि हरिवंशलाई यही चरित्रका कारण धेरैले सम्झने गर्छन् । अब उनले हरिबहादुरको चरित्र फिल्ममा पनि निभाउने भएका छन् । त्यो फिल्मको नाम हो, ‘हरिबहादुरको जुत्ता’ । बुधबार यो शीर्षकमा फिल्म बन्न लागेको जानकारी गराइयो ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्ममा हरिवंशका साथै गायक तथा अभिनेता प्रकाश सपूत पनि देखिने भएका छन् । यसअघि उनीहरुले ‘काउली’ गीतमा सहकार्य गरेका थिए । फिल्ममा हरिवंश र प्रकाश बाबु-छोराको भूमिकामा देखिन लागेको स्रोत बताउँछ । यद्यपि, निर्माण टिमले यसको पृष्टि गरेको छैन । र, अभिनेत्रीमा प्रियंका कार्कीको सम्भावना प्रवल रहेको चर्चा छ ।
प्रकाशले यो फिल्म तीन पुस्तालाई जोड्ने कडी बनेको बताएका छन् । ‘म सानैदेखि हरिवंश दाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ उनी भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाइएला भनेर सोचेको थिइनँ । आज हरिवंश दाईसँग जोडिन पाउँदा खुशी छु । निर्देशनमा दीपेन्द्र दाईको बेग्लै उचाइँ छ । यो फिल्मले तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ ।’
गायक सरोज ओलीले फिल्मको निर्माण गर्नेछन् । पटकथा तथा संवाद भने हरिवंश आचार्यको छ । उनी फेसबुकमा लेख्छन्, ‘मेरो मनमा एउटा ‘कन्सेप्ट’ फुरिरहेको थियो । सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफैं फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । ‘आइडिया’ युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’