बलात्कारविरुद्धको आवाज उठाएको फिल्म ‘देवी’ तीजको दिन पारेर भोलि शुक्रबार (भदौ २१ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको ‘रेड कार्पेट’ प्रिमियर गरिएको थियो, जहाँ उपस्थित अधिकांश अतिथिहरुले विषयवस्तु र अभिनेत्री शिल्पा मास्केको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार तथा महिला हिंसाको कानुन बलियो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकाले ‘देवी’ जस्ता फिल्मले सरकारलाई घच्घचाउने उनको विश्वास छ । अभिनेत्रीद्वय लुनिभा तुलाधर र मेनुका प्रधानले फिल्म अत्यन्त राम्रो बनेको र यसले उठाएको मुद्धा बहसको विषय हुनुपर्ने धारणा राखेका थिए ।
अभिनेता कार्म शाक्यले फिल्मले गम्भीर विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको प्रतिक्रिया दिए । ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले ‘देवी’ जस्तो कन्टेन्टमा आधारित फिल्म निर्माण गर्ने हरेक मेकरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई फिल्मले सुक्ष्म र सशक्त रुपमा उठाएको उनको भनाई थियो ।
प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया प्राप्त भएपछि कलाकारदेखि निर्देशकको अनुहारमा खुसीको भाव देखिएको थियो । क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । यसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।