मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ ‘रावायण’को बुकिङ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/05

यतिबेला हलमा नेपाली फिल्मको कुनै अभाव छैन । हरेक हप्ता नयाँ फिल्महरुको ओइरो-पहिरो छ । मात्र अभाव भनेको दर्शकको देखिन्छ । गत असार अन्तिममा आएको ‘घरज्वाइँ’पछि कुनै फिल्मले लगानी त टाढाको कुरा, कलाकारहरुलाई तिरेको पारिश्रमिक पनि उठाउन सकेका छैनन् । यो निराशाका बीच भोलि शुक्रबार (तीजको दिन)बाट दुई फिल्म ‘रावायण’ र ‘देवी’ प्रदर्शन हुँदैछन् ।

चर्चाको हिसाबले ‘रावायण’ अगाडि देखिन्छ । त्यसैले यो फिल्मले सुस्ताएको बजारलाई चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ । टिजर, शीर्ष गीत र ट्रेलरपछि चुलिएको हाइप हेर्दा फिल्मको इनिसियल व्यापार राम्रो हुनसक्ने सम्भावना बलियो छ । ‘स्टारकास्ट’ पनि बलियो भएकाले युवा दर्शक आकर्षित हुनसक्ने आधार देखिन्छ । र, फिल्मले तीज विदाको फाइदा पनि राम्रै उठाउन सक्छ ।

 

Pooja Sharma


बुधबार दिउँसोबाट ‘रावायण’को मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ । फिल्मले देशभरका मल्टीप्लेक्समा १ सय २० हाराहारी शोज पाएको छ । फिल्मको चर्चाको हिसाबले प्राप्त शोज उल्लेख्य भने होइन । बिहीबारबाट आएको तमिल फिल्म ‘गोट’का कारण शोज बाँडिएको देखिन्छ । तथापि, उपलब्ध शोजमा ५० प्रतिशत मात्रै पनि अकुपेन्सी मिल्यो भने फिल्मले राम्रो ओपनिङ पाउनेछ ।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा फिल्मलाई प्राप्त शोजमा बिहीबार दिउँसोसम्म सामान्य ‘बुकिङ’ देखिएको छ । यद्यपि, बुकिङ गर्नेको संख्या विस्तारै बढिरहेको छ । त्यसो त नेपाली फिल्मको टिकट अनलाइनबाट भन्दा काउन्टरबाट नै बढी बिक्री हुने गरेको पाइन्छ । यसैले ‘रावायण’प्रति दर्शकहरुमा उत्साह रहेछ भने शुक्रबारबाट हलको काउन्टरमा चाप देखिन सक्छ ।

यसमा अभिनेता पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । यसअघि ‘म यस्तो गीत गाउँछु’को दुईवटा सफल श्रृंखलामा देखिएका उनीहरुको यो तेस्रो सहकार्य हो । उनीहरु दुवैको आफैंमा बलियो ‘फ्यान फलोइङ’ छ । यसको फाइदा पनि फिल्मले उठाउनेमा दुईमत छैन । सुदर्शन थापाको निर्देशनमा बनेको ‘रावायण’मा पलले सकारात्मक र नकारात्मक गरी दुईवटा चरित्र निभाएका छन् ।