मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो चले ‘रावायण’ र ‘देवी’ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/08

तीज विदा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । विदामा व्यापार राम्रो हुन्छ भन्ने विश्वासमा हरेक वर्ष तीजमा फिल्म रिलिजको राम्रै चाप देखिने गरेको छ । यसपटक दुई नेपाली फिल्म ‘रावायण’ र ‘देवी’ तीजको दिन प्रदर्शनमा आएका थिए । तर, के यी दुवै फिल्मले तीजको फाइदा उठाउन सफल भए त ? केही हदसम्म ‘रावायण’को व्यापारमा भने तीज विदाको फाइदा पुगेको देखिन्छ ।

 

paul pooja


शुक्रबार (तीजको दिन) बिहानी शोज अपेक्षित हुन नसकेको भए पनि दिउँसो १ बजेपछि फिल्मले गति समातेको थियो । काठमाडौं उपत्यकाका मल्टीप्लेक्सहरुमा दिउँसोदेखि साँझसम्म फिल्मलाई प्राप्त शोजमा समग्रमा ६० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो । केही हल पूर्ण रुपमा हाउसफुल थिए । काठमाडौंबाहिरका केही सहरमा पनि शुक्रबार दर्शकको उपस्थिति सुखद् थियो ।  

शुक्रबार फिल्मका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बालाजुस्थित अष्टनारायण हलमा पुग्दा उनीहरुलाई हेर्न र तस्वीर खिच्न दर्शकको ठूलो भीड देखिएको थियो । एक हजार सिट क्षमताको हल भरिएपछि अष्टनारायणका सञ्चालकले फिल्मलाई अर्को पर्दा पनि उपलब्ध गराएका थिए । त्यसमा पनि दर्शक भरिभराउ भए । शनिबार पनि अष्टनारायण हलमा लगभग यही अवस्था देखियो ।

शुक्रबार दर्शकको उपस्थितिले उत्साहित बनेको निर्माण टिम शनिबारका लागि अझ आशावादी थियो । तर, अष्टनारायण हलबाहेक शनिबार काठमाडौंका मल्टीप्लेक्सहरुमा त्यो हिसाबले दर्शक ओइरिएनन् । यद्यपि, अकुपेन्सी अनुपात समग्रमा ५० प्रतिशत रह्यो । यो सुखद् नै हो । तर, अपेक्षित होइन । अब आइतबारबाट ‘वर्ड अफ माउथ’ले ‘रावायण’को बक्स अफिस भविष्य निर्धारण गर्नेछ ।

 

 Shilpa Maskey


‘देवी’ले भने प्रदर्शनको पहिलो दिनै दम तोडिसकेको थियो । प्राप्त शोजमा २० प्रतिशत अकुपेन्सी पनि हासिल गर्न सकेको देखिएन । शनिबार भने एकाध शोजमा ठीकठाक दर्शक देखिए, त्यो पनि फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्के उपस्थित भएको शोमा । दुई दिनको व्यापार कमजोर भएपछि आइतबारदेखि फिल्मको शोज घटेको छ । यद्यपि, हेर्ने जतिले फिल्मलाई राम्रो भनेका छन् ।

‘एडल्ट सर्टिफिकेटले ‘रावायण’लाई असर गरेको हो ?

एक्सन कथावस्तुमा बनेकाले ‘रावायण’ले यूनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) पाउने सम्भावना थिएन । तर, यो फिल्मले पीजी सर्टिफिकेट पनि पाएन । केही विभत्स दृश्यका कारण सेन्सर बोर्डले फिल्मलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको छ । अर्थात् यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउँदैनन् । ‘एडल्ट सर्टिफिकेट’ले फिल्मको व्यापारमा असर पुगेको निर्माण टिमको गुनासो छ ।

 

paul shah


शुक्रबार खुसी भावमा हल-हलमा पुगेकी फिल्मकी अभिनेत्री तथा निर्मात्री पूजा शर्मा शनिबार केही निराश भावमा देखिएकी थिइन् । त्यसको कारण फिल्मले पाएको ‘एडल्ट सर्टिफिकेट’ रहेछ । ‘एडल्ट नै पाउनुपर्ने फिल्ममा त्यस्तो केही दृश्य थिएन । तर, एडल्ट पाउँदा एकदमै नराम्रो लागिरहेको छ । यो सर्टिफिकेटको नियमका कारण धेरै हलहरुबाट दर्शक फर्किनुपरेको छ,’ उनले भनिन् ।

दर्शकले फिल्म हेर्न नपाउँदा आफू निराश रहेको उनको भनाई थियो । उनले फिल्मलाई के सोचेर एडल्ट सर्टिफिकेट दिएको भनेर सेन्सर बोर्डलाई प्रश्न पनि गरेकी छन् । उनी भन्छिन्, ‘हाम्रो चाहना सबै वर्गका दर्शकले फिल्म हेर्न पाउन् भन्ने हुन्छ । सेन्सर बोर्डले यो चीज हटाउनुस् सबैले हेर्न पाउँछन् भनेर एक दिनको समय दिएको भए हुन्थ्यो । म यो विषयमा सेन्सर बोर्डसँग कुरा राख्दै छु ।’

पलले पनि फिल्मलाई एडल्ट सर्टिफिकेट दिएकोमा गुनासो व्यक्त गरे । ‘फिल्म हेर्न हलमा दर्शक आउने भनेको परिवारसहित हो । एडल्ट सर्टिफिकेटको नियमका कारण हलबाट दर्शकलाई फिर्ता पठाइनु दुःखको कुरा हो । शनिबार प्रत्येक शोबाट ४०/५० जना दर्शक फर्किनुभएको छ । यो कुराले चित्त दुखेको छ,’ उनी भन्छन्, ‘यसका बावजूद पनि दर्शकको साथ मिलेको छ । म खुसी छु ।’