मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुनः सम्पादन गरेपछि ‘रावायण’ले पायो पीजी सर्टिफिकेट

फिल्मीखबर, काठमाडौं, 2024/09/08

Pooja Sharma

 

तीजको दिनबाट हलमा प्रदर्शनरत फिल्म ‘रावायण’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले केही विभत्स दृश्य र अपाच्य संवादका कारण १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने गरी ‘एडल्ट सर्टिफिकेट’ दिएको थियो । जसले गर्दा यो उमेर समूहका दर्शक र बच्चा लिएर गएका अभिभावकहरुले फिल्म हेर्न पाएका थिएनन् । यसले फिल्मको व्यापारमा नै ठूलो असर गरेको थियो ।

अब फिल्मको सेन्सर सर्टिफिकेट परिवर्तन भएको छ । निर्माताले केही दृश्यलाई ‘ब्लर’ (धमिलो) गरेर केही अपाच्य संवादमा ‘बिप’ (म्यूट) हालेपछि सेन्सर बोर्डले फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्नुपर्नेछ । आइतबार निर्माताले पुनः सेन्सरका लागि निवेदन दिएपछि बोर्डका सदस्यहरुले पुनः फिल्म हेरेका थिए ।

बोर्डका सदस्य ऋषिराज आचार्यले फिल्मीखबरसँग भने, ‘पुनः सेन्सरका लागि भनेर निवेदन परेको थियो । उहाँहरूले केही दृश्य र संवादहरू मिलाउनु भएको रहेछ । फिल्ममा सानो भाग चलाइएको छ भने पनि पुनः सेन्सर गर्नुपर्छ । उहाँहरू प्रक्रियासहित २/४ ठाउँमा मिलाएर आउनुभएको रहेछ । त्यसपछि पीजी दिएका हौं ।’ फिल्मको पुनः सेन्सर गर्न तोकिएको राजश्व तिर्नुपर्ने नियम छ ।

‘रावायण’ले पीजी सर्टिफिकेट प्राप्त गरेपछि अभिनेत्री तथा निर्मात्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘२/३ संवादमा ‘बिप’ र २/३ सटमा ‘ब्लर’ गरी सेन्सर गरेर सहयोग गरिदिनु भएकोमा सेन्सर बोर्डप्रति आभार व्यक्त गर्दछौं ।’ एडल्ट सर्टिफिकेटको नियमका कारण शुक्रबार र शनिबार धेरै दर्शक हलमा पुगेर पनि फर्किएपछि उनी निराश देखिएकी थिइन् ।