मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

म आफैंलाई चुनौती दिने क्यारेक्टर गर्न रुचाउँछु : धीरज मगर

फिल्मीखबर, काठमाडौं, 2024/09/09

२०७५ सालमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेता धीरज मगरको उदय भएको थियो । यसले उनको छवि नै ‘लभर ब्वाई’को रुपमा बनायो । यसपछिका फिल्ममा पनि उनी रोमान्टिक भूमिकामै देखिए, तर त्यसमा विविधता देखिन्थ्यो । दोस्रो फिल्म ‘बाबरी’मा लुक्सदेखि बोल्ने शैलीसम्म फरक थियो । ‘ज्याकी’मा डान्सर बनेका थिए । र, ‘एक भगवत् गीता’मा मगर चरित्र निभाए ।

अब उनको पाँचौं फिल्म ‘खुस्मा’ आगामी असोज ३ गते (संविधान दिवस)बाट प्रदर्शन हुँदैछ । यसमा उनले गाउँले चरित्र निभाएका छन्, जसले द्वन्द्वकालीन जीवन बाँचेको छ । नेपाली फिल्ममा कलाकारहरुलाई ‘टाइपकास्ट’ (सधैं उस्तै खालको भूमिका) गराउने चलन भए पनि आफूले दोस्रो फिल्म (बाबरी)बाट नै फरक-फरक चरित्रमा काम गर्ने अवसर पाइरहेकोमा उनी गर्व महसुस गर्छन् ।

 

dhiraj magar


एक भेटमा उनले भने, ‘पहिलो फिल्ममा मेरो सहरीया क्यारेक्टर थियो । तर, दोस्रो फिल्मबाट नै मैले त्यसलाई ब्रेक गरेँ । नेपालमा ‘टाइपकास्ट’ गर्ने चलन छ । कति कलाकारहरु मेरो ‘कम्फर्ट जोन’ यही हो र यसैमा जान्छु भन्ने पनि सोच्नुहुन्छ । तर, मैले पहिलो फिल्मभन्दा दोस्रो फिल्ममा फरक चरित्र निभाएको थिएँ । मेरो प्रयास हरेक फिल्ममा फरक लुक्स र चरित्रमा काम गरुँ भन्ने हुन्छ ।’

धीरज हरेक फिल्ममा आफूलाई चुनौती दिन सक्ने चरित्र होस् भन्न चाहन्छन् । ‘मैले आफ्नो ‘कम्फर्ट जोन’मा बसेर जे सुहाउँछ त्यही गर्छु भनेको भए ‘इन्टु मिन्टु लण्डनमा’पछि त्यस्तै क्यारेक्टर गरेर बस्थेँ होला । तर, म आफैंलाई चुनौती दिने खालको क्यारेक्टर गर्न रुचाउँछु,’ उनले भने । ‘खुस्मा’मा पनि आफ्नो फरक चरित्र रहेको र त्यसमा काम गर्न एकदमै चुनौती भएको धीरज स्मरण गर्छन् ।

‘मेरो साधारण क्यारेक्टर छ, जो मैकोट गाउँमा हुर्किएको हो । २५ वर्ष अगाडिको कथामा ‘खुस्मा’ बनेकाले चरित्रमा काम गर्न चाहिँ गाह्रो भएको थियो,’ उनी सम्झन्छन्, ‘त्यो समयको हुकाई र भोगाई हामीमा छैन । त्यसैले वर्कसपमा हामीले द्वन्द्वकालको समय बुझ्न कति डकुमेन्ट्रीहरु हेर्‍यौं । इतिहासका किताबहरु पनि पढियो । त्यो क्यारेक्टरमा छिर्न एकदमै मिहिनेत र तयारी गर्नुपरेको थियो ।’

उनी ‘खुस्मा’लाई शुद्ध र ‘इनोसेन्ट’ लभस्टोरी भन्न रुचाउँछन् । ‘शहरमा यो किसिमको लभ नहोला तर गाउँमा त्यो पनि द्वन्द्वकालको समयमा दुईजना (प्रेम जोडी)ले कस्तो समस्या झेल्नुपरेको थियो भन्ने कुरा फिल्ममा छ । माया भन्ने कुरा कति शक्तिशाली हुने रहेछ भन्ने फिल्मले देखाउँछ । यसमा शुद्ध र ‘इनोसेन्ट’ लभस्टोरी छ,’ उनले भने । धीरज फिल्मलाई लिएर एकदमै उत्साहित देखिन्छन् ।